काठमाडौं। कोरोनाको महामारीको कारण जारी लकडाउनमा जुनै उमेर समूहमा पनि मानसिक समस्या देखिन्छ। साना बालबालिकाहरुलाई महामारी, रोगहरुको बारेमा धेरै कुरा थाहा नभएपनि अरु बिरामी भएको देख्दा, आफ्नै परिवारहरु बिरामी भएको कारणले समस्या पारिरहेको हुन्छ। विद्यालय जान नपाउँदा, घरमै बसिराख्नुपर्दा आफ्नै किसिमका समस्याहरु हुन सक्छ।

त्यस्तै कलेज पढ्ने विद्यार्थीहरुका लागि पढाई र करिअरको चिन्ता, अभिभावकलाई आफ्नो बच्चाको स्वास्थ्य, भविष्य तथा आर्थिक समस्या हुन सक्छ। यी सबै कारणहरुले मानिसहरुमा तनाव पैदा गर्छ, जुन मानसिक समस्याको मुल कारण हुन्। यी यावत् समस्याहरुलाई समयअनुसार मिलाउन र यसमा ढल्दै जान नसके लामो समयसम्म समस्या निम्त्याउँछ।

समाजमा घटिरहेका घटनाहरु समाचार माध्ययमबाट थाहा पाउँछौं। तर थुप्रै सञ्चार माध्ययमहरु भएका कारण पटक पटक एउटै नकारात्मक तथा मृत्युका समाचार विभिन्न माध्ययमबाट हेर्दा पनि समस्या निम्ताउन सक्छ। त्यसैले समाचार माध्यमहरुले नकारात्मक तथा मृत्युका समाचारलाई प्राथमिकता दिनु हुन्न ।

कोरोना जितेका र खुशीका कुराहरुमात्र संप्रेषण गर्न सकेमा बढ्दो मनोरोगलाई घटाउन सकिन्छ। मनोरोग भन्ने कुरा नै आत्मबल गिराउने कार्य हो। यो कार्य हामी कसैवाट गर्न हुन्न। आत्मबल गिराउने कार्य नगरिकन आत्मबल बढाउने कार्य गर्नु आवश्यक छ। यो विषम परिस्थितिमा बरु हाँसो, खुसी एवं उमंगले मुटुको सुरक्षा तथा सम्बर्द्धनमा सघाउ पु-याउनसक्छ। हालैको एक अध्ययनले हाँसोले स्वस्थ रक्तवाहिनीको विकासमा भूमिका खेल्ने देखाएको छ।

अध्ययनका अनुसार हाँस्दा दिमागमा पैदा हुने ‘इन्डोरफिन’ नामक रसायनले रक्तवाहिनीको भित्री रेशालाई सक्रिय गराउँदछ। त्यो सक्रिय रेशाले ‘निट्रिक अक्साइड’ नामक ‘मलिक्युल’ पैदा गर्छ जसले शरीरको धमिनीहरुलाई आराम एवं सहजता प्रदान गर्दछ।

हाँस्दा ‘कोर्टिसोल’ र ‘इपिनफ्रिन’ नामक ‘स्ट्रेस हर्मोन’ (तनावको श्रृजना गर्ने रसायन) को उत्पादनमा कमी आउने देखाएको छ। कोर्टिसोल र इपिनफ्रिन रक्त वाहिनीमा संकुचन ल्याउने हर्मोन हुन् जसले उच्च रक्त चाप, स्ट्रोक र हृदयघात लगायतको जोखिमलाई बढाउँछ। हाँसोले शरिरमा एण्टीबडी उत्पादन गर्ने कोषहरुमा बृद्धि ल्याइ ब्यक्तिको रोगसँग लड्ने क्षमतालाई बढाउने पनि अध्ययनले देखाएको छ।

(नामी साप्ताहिकवाट साभार ।)
प्रकाशन मिति–२०७८ साल जेठ २ गते आइतवार ।