काठमाडौ। क्रिश्चियन धर्मका संस्थापक महान प्रभु येशू ख्रीष्टको आज जन्मजयन्ती। विश्वभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरेर ख्रीष्टमस दिवस मनाउने कार्य भैरहेको छ।

यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु-स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको खुशीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ ।

नेपालमा पनि विसं.२०६२/६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । नेपाल सरकारले आज राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक बिदा घोषणा गरेको छ।

नेपालको ख्रीष्टियन इतिहास चार सय वर्षभन्दा पुरानो छ। राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेषगरी विभिन्न मण्डली र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए।

हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ । ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिएको छ।

यसैबीच नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले ख्रीष्टमसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।


प्रकाशन मिति–२०७४ साल पुष १० गते सोमवार ।