Maha ko Ma 1काठमाडौ। नेपालका ख्यातिप्राप्त हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन भएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वर्ष लामो वैवाहिक वर्षगाँठको अवसर पारेर मंगलवार काठमाडौमा आयोजित भव्य कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश आचार्यले विमोचन गरेका हुन्।

३७ वर्ष लामो सहयात्राका लागि मदनकृष्ण श्रेष्ठलाई धन्यवाद दिँदै हरिबंश आचार्यले विमोचन पश्चात भने– “मेरो गुण मात्र होइन दुर्गुण पनि स्वीकारेर मलाई नजिक राख्नुभयो, मैले नजानेरै कहिले मन दुखाएको छु भने माफी चाहन्छु।”

लेखक श्रेष्ठले पुस्तकमा आफुले भोगेका आरोहअवरोह, अभिनय, नेपाल भाषा र सङ्गीतमा गरेको काम, हरिवंश आचार्यसँगको सम्बन्ध, श्रीमती र शारीरिक समस्याको साथै रमाइला सम्झनाको संग्रह रहेको विमोचन समारोहमा बताएका छन्।

Maha ko Ma 2आत्मकथा लेखनमा प्रेरित र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै श्रेष्ठले भनेका छन्–“जिन्दगीमा के के गरियो तर प्रायः राम्रो मान्छेहरुसँग मात्र भेट भयो, त्यसैले राम्रो गर्न र बोल्न पाएँ, सबैले आत्मीय ठाने । यो ऋण कसरी तिर्ने थाहा छैन ।”

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, उनका छोरा संगीतकार यमन र छोरी सरानाले सांगीतिक प्रस्तुतिसमेत दिएका थिए। विमोचित पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा. रवीन्द्र समीरले आत्मप्रशंसाबाट टाढा रहेर लेखिएको यस पुस्तकले हसाउँछ पनि र रुवाउँछ पनि भने। पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो।

Maha ko Ma 3प्रकाशन मिति–२०७४ साल भाद्र २० गते मंगलवार ।