काठमाडौ। ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यको दोस्रो कृति उपन्यास हरिबहादुर सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार आयोजित कार्यक्रममा अर्का ख्यातिप्राप्त हास्यअभिनेता मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गरेका हुन। यसअघि आचार्यको चर्चित आत्मकथा चिना हराएको मान्छे बजारमा आएर विक्रीको अपार रेकर्ड राखिसकेको छ।

Hari Bahadur 1खचाखच दर्शकले भरिएको प्रज्ञा भवनको डबलीमा पुस्तक सार्वजनिक गर्दै श्रेष्ठले आचार्यको आत्मकथा चिना हराएको मान्छे जस्तै यस उपन्यासले पनि लोकप्रियता प्राप्त गर्ने जिकिर गरेका छन्। श्रेष्ठले भनेका छन्। – “हरिबहादुर हाम्रै समाजमा भएको एउटा पात्र हो । जो हरेक ठाउँमा हरिबहादुर छ । जसले बुद्धि भएर पनि सही ठाउँमा प्रयोग गर्दैन । जसले आफूलाई फाइदा हुने काममा मात्र आफू सरिक हुन्छ भने आफू फस्ने स्थानमा अरुलाई फसाइदिन्छ । हरिबहादुर अहिले देशका नेताहरु जस्तै चरित्र हो ।

हरिबहादुरजस्ता मानिस राजनीतिमा भएर नै हामीले विभिन्न ताण्डव देख्नुपरेको छ ।” आफ्ना सहकर्मी आचार्यको बारेमा बोल्दै गर्दा निकै भावुक हुनुभएका कलाकार श्रेष्ठले हरिवंश आफ्नो जिन्दगी भएको दावी नै गरे । उनले थपे – “हरिवंश मेरो परम मित्र प्यारो भाइ हो । जो मेरो जिन्दगी हो । मेरो आफ्नो केही छ भने ऊ हरिवंश हो। उसको पुस्तक आउँदा खुसी मेरो लागि ठूलो खुसीको कुरा हो ।” आफ्नो पुस्तक पनि दसैँमा ल्याउने जानकारी दिँदै श्रेष्ठले पारिवारिक कारणले ढिला भएको स्पष्ट पारेका छन्।

पुस्तकका बारेमा बताउँदै लेखक आचार्यले हरिबहादुरका १५ प्रतिशत विषय टेलिचलचित्रको पात्र हरिबहादुरसँग मिले पनि बाँकी विषय नयाँ छन्। मैले अघिल्लो पुस्तकमा लेख्न नसकेका कुरालाई पनि यसमा राखेको छु। यो गाउँबाट सहरमा ल्याइएको युवा जसका क्रियाकलाप व्यक्तिगत भएर पनि सामाजिक राजनीतिक बनेका छन् भनेका छन्। मदनकृष्ण श्रेष्ठ र आफूले ४० वर्षदेखि नाटक लेखन गर्दै आएकाले रङ्गमञ्जमा प्रस्तुत गरेका प्रहसनलाई पुस्तकका रुपमा ल्याउने ठूलो जिम्मेवारी छिट्टै पूरा गर्ने पनि जानकारी आचार्यले दिएका छन्।

Hari Bahadur 2

आगामी जेठ ५ गतेपछि लेखकले हरिबहादुर किताब यात्रामा निस्केर देशका विभिन्न स्थानमा पाठकहरुसँग अन्तरक्रिया गर्ने बताएका छन् । चितवन, पोखरा, बुटबल, दाङ, कोहलपुर, सुर्खेत, धनगढी, बिर्तामोड, विराटनगर, धरान, सिन्धुली गरी ११ ठाउँमा किताब यात्रामा पाठकसँग प्रत्यक्ष भेट र आचार्यको प्रहसन पनि हुनेछ । पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो।
प्रकाशन मिति–२०७४ साल बैशाख २४ गते आइतवार ।