काठमाडौ। नेपाल चलचित्र निर्देशक समाजमा नयाँ नेतृत्व चयन भएको छ। आगामी तीन बर्षको लागि नेपाली चलचित्रकी महिला निर्देशक सुचित्रा श्रेष्ठ समाजको अध्यक्षमा निर्वाचित बनेकी छन्। नेपाली कांग्रेस पक्षधरकी श्रेष्ठको प्रतिव्दन्दी माओवादी पक्षधर राजु केसी देखिएका थिए। श्रेष्ठको पक्षमा ६९ मत खसेको थियो भने, केसीको पक्षमा ३४ मत परेको थियो।

Suchitra Shresthaचलचित्र निर्देशक समाजको निर्वाचनमा राजनीतिको कुनै छनक नदेखाउने प्रतिवद्धता भएतापनि नेपाली कांग्रेसको कोटावाट चलचित्र विकास वोर्डमा अध्यक्ष बनेका राजकुमार राई नवनिर्वाचित अध्यक्ष श्रेष्ठको पक्षमा खुलेरै लागेका थिए। माओवादीका पक्षधर समाजका पूर्वअध्यक्ष केपी पाठक भने प्रतिव्दन्दी केसीको पक्षमा खुलेका थिए।

समाजको उपाध्यक्ष पदमा रक्षासिंह राणा र दिपक खाँड विजयी भएका छन् । रक्षाले सर्वाधिक मत ८३ प्राप्त गरिन् भने दिपकले ४९ ल्याए । दुई उपाध्यक्षको लागी तीन जनाको उमेद्वारी परेकोमा प्रमोद भण्डारी ४० मत सहित तीन नम्बरमा परे । सचिव पदमा शेखर खनाल विजयी भएका छन् । उनले ५० मत ल्याए भने प्रत्यासी जनकद्विप पराजुलीले ४८ मत ल्याउँदै २ मतले पछि परे ।

कोषाध्यक्ष पदमा विश्वमणी घिमिरे आएका छन् । उनले प्रतिद्वन्दी समिर बलामीलाई ४० मतले पछि पारे । घिमिरेको पक्षमा ६९ र वलामीको पक्षमा २९ मत पर्यो । त्यस्तै सहकोषाध्यक्ष पदमा राजु अधिकारी (४७) विजयी भएका छन् । प्रत्यासी शिव घिमिरेलाई (४४) अधिकारीले परास्त गरे । सदस्यहरुमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भए। महासचिवमा भने गोपालचन्द्र लामिछाने निर्विरोध चयन भएका छन् । १३८ जना निर्देशकले मताधिकार पाएकोमा जम्मा १०३ मत मात्र खसेको थियो।

प्रकाशन मिति–२०७३ साल साउन १५ गते शनिवार ।