Chitwan Bharatpurकाठमाडौ। चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्पर्क कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान शनिवार डिस्पोज गरेको छ।

भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बम निस्क्रिय गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।

सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेयता त्यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको राससले उल्लेख गरेको छ। निर्वाचनको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

Chitwan Bharatpurत्यसैगरेर कास्कीको पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा शुक्रबार राति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।

बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो। निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ । बम विस्फोट गराइएको विद्यालयमा वडा नं ६ को मतदान केन्द्र राखिएको छ। प्रहरीले यस्ता गतिविधिमा संलग्न उच्छुङ्खल तत्वको खोजतलास गरिरहेको जनाएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख ३० गते शनिवार ।