काठमाडौ। नेपालको छिमेकी मुलुक चीनले पनि नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र अर्थात ‘ग्रिनकार्ड’ उपलब्ध दिन थालेको छ।

चीनले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले भनेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा लामो समयदेखि विभिन्न पेसा–व्यवसायमा संलग्न रही बसोबास गरिरहेका नेपालीले ग्रिनकार्ड पाएका हुन्। उनीहरूलाई स्थानीय भाषामा ‘खचेरा’ भनिन्छ।

China and Nepal

तिब्बतको गृह मन्त्रालयका अधिकारीले १ सय १८ नेपालीलाई ग्रिनकार्ड उपलब्ध गराएको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन्। महाबाणिज्यदूत कार्कीका अनुसार ग्रिनकार्ड पाउने १ सय १८ मध्ये महावाणिज्यदूतावासमा स्थानीय कर्मचारीका रूपमा काम गर्ने दुईजना नेपालीसमेत रहेका छन्।

सार्वजनिक कार्यक्रम गरी तिब्बतका सुरक्षा अधिकारीले उनीहरुलाई ग्रिनकार्ड दिएको समेत कार्कीले भनेका छन्। ग्रिनकार्ड पाएपछि उनीहरूले स्वास्थ्य उपचार बिमालगायत सुविधा चिनियाँ नागरिकसरह पाउने कार्कीले बताए।

नेपाली राहदानीको म्याद दस वर्ष बहाल रहने हुँदा सोहीअनुसार ती नेपालीले तिब्बतमा दसबर्से बसोबास अनुमतिपत्र पाएको उनले बताए। ‘ग्रिनकार्ड पाए पनि नेपालीले चिनियाँ नागरिकसरह कुनै राजनीतिक अधिकारचाहिँ पाउँदैनन्’, उनले भने।

नेपालीहरू यसरी ग्रिनकार्ड लिएपछि वर्षको ९ महिना अनिवार्य तिब्बत बसेकै हुनुपर्नेछ। वर्षका बाँकी तीन महिना उनीहरू तिब्बतबाट बाहिर जान पाउँछन्।
प्रकाशन मिति–२०७३ साल फागुन १४ गते शनिवार ।