काठमाडौ। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’को समयमा खिचिएका विभिन्न तस्वीरको प्रदर्शनी आज विहीवारदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा शुरु भएको छ ।

‘माओवादी जनयुद्धको दुई दशक’ शीर्षकमा सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा शुरु भएको सो प्रदर्शनीमा माओवादीले ‘जनयुद्ध’ शुरु गरेको विसं २०५२ फागुन १ गते सार्वजनिक गरेको पोस्टर, माओवादीका लडाकु, महत्वपूर्ण बैठक तथा प्रशिक्षणका तस्वीर समावेश गरिएको छ ।

माओवादीको चर्चित चुनवाङ बैठक, विस्तृत शान्ति सम्झौता, सेना समायोजनलगायतका महत्वपूर्ण परिघटना समेटिएको तस्वीरपनि प्रदर्शनीमा राखिएको छ । सैन्य प्रशिक्षण, राजनीतिकसभा र अभियानका तस्वीरसमेत प्रदर्शनीमा समावेश गरिएको छ । विभिन्न कालखण्डका सय तस्वीर राखिएको उक्त प्रदर्शनीको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भने चुनवाङ बैठकपछि प्रस्तुत गरिएको ‘युद्ध मैदानबाट फर्किदा’ भन्ने अपेरा प्रस्तुत गर्दा माओवादीका नेतालाई भाव विह्वल बनाएको तस्वीरले सबैभन्दा बढी आकर्षित गरेको थियो।
प्रदर्शनीमा राखिएका तस्वीर अवलोकन गर्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धको ऐतिहासिक भूमिका रहेको र त्यसको नेतृत्वकर्ताको हिसाबले पनि आफू र आफ्नो पार्टीले सधैँ गौरव गर्ने बताएका छन्।

कार्यक्रममा फोटो पत्रकार दिनेश श्रेष्ठलाई अध्यक्ष दाहालले सम्मान गरेका थिए। पत्रकार श्रेष्ठको तस्वीरसमेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी यही फागुन ७ गतेसम्म चल्नेछ । आयोजक सांस्कृतिक संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले ‘जनयुद्ध’ नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि महत्वपूर्ण परिघटना भएकाले त्यसैको स्मरणमा प्रदर्शनीको आयोजना गरिएको भनेका छन्।

प्रकाशन मिति–२०७४ साल फागुन ३ गते विहीवार ।