Dalai Lamaकाठमाडौ। तिब्बती धर्मगुरु दलाई लामाको ८१ औं जन्मदिन मनाउन काठमाडौको बौद्धमा बुधवार भेला उपर प्रहरी हस्तक्षेप भएको छ। नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमति बेगर दलाई लामाको जन्मोत्सव मनाएको भनी प्रहरीले हस्तक्षेप गरेपछि तिव्वती धर्मगुरु दलाई लामाको जन्मदिनको उत्सव विथोलिएको अन्नपूर्ण पोष्टले जनाएको छ।

भेला भएका झन्डै तीन हजार समर्थक आक्रोशित हुँदै फर्किएका हुन्। बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई प्रहरीले पक्राउ गरेको थियो। लामाका समर्थकले स्टेज बनाई सांस्कृतिक लगायत विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए। काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले अनुमतिबिना कार्यक्रम गरेकाले रोक्न निर्देशन दिएको बताए।

नेपालस्थित दलाई लामाका मुख्य प्रतिनिधि ताम्दिङदोर्जे तुलाधरले प्रजातन्त्र र मानवअधिकारप्रति उदार नेपालमा शान्तिपूर्ण कार्यक्रम गर्न नपाउनु दुः खद र आपत्तिजनक भएको टिप्पणी गरे।
प्रकाशन मिति–२०७३ साल असार २३ गते विहीवार ।