Panna Kaji 3

काठमाडौ। लामो समयदेखि बिरामी परेका वरिष्ठ गायक पन्नाकाजी शाक्यको ८६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। पन्नाकाजीको उच्च रक्तचापका कारण निधन भएको हो।

‘तिरिरी मुरली बज्यो वनैमा’जस्ता दर्जनौं कालजयी गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा ठूलो गुन लगाएका पन्नाकाजी नेपाली सांगीतिक क्षेत्रको गर्व गर्न लायक स्रष्टा मानिन्छन्। वि.सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए।

 

पन्नाकाजीले राणकालमै नाटकसमेत खेलेका थिए। नाटककार बालकृष्ण समकासमेत पन्नाकाजी प्रिय मानिन्थे। साहित्यकार तथा नाटक निर्देशक बालकृष्ण समको विशेष सिफारिसमा रेडियो नेपालका निर्देशक तारणीप्रसाद कोइरालाले पन्नाकाजीलाई गायककोरुपमा जागिर दिएका थिए।

२००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति लिएर उनले २०४० सालसम्म काम गरेका थिए। रेडियो नेपालले २०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा नारायणगोपाल संगीतमा प्रथम हुँदा पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए।

Panna Kaji 4

 

‘किन–किन तिम्रो तस्वीर’ र ‘लोलाएका ती तिम्रा आँखा’को पुरानो मेलोडी, ‘नौलाखे तारा’, ‘एकानी दुवानी’, ‘रात यो नबित्ला’, ‘लालीगुराँस फुल्यो है’लगायत सिर्जना दिएका पन्नाकाजीका आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी करिब चार सय गीत रेकर्ड भएका छन्। पन्नाकाजीका चार छोरा र एक छोरी छन्। दुई छोरा प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन्। पन्नाकाजीको बुधबारै टेकु दोभानमा अन्त्येष्टि गरिएको छ।
प्रकाशन मिति–२०७३ साल माघ १२ गते बुधवार ।