बेसीशहर। नेपालीहरुको महान पर्व दशैं सकेपनि तिहारको रमाइलोमा लमजुङको गाउँशहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता संपन्न भएको छ। परम्परागत लिंगेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि दोस्रो ठूलो पर्व तिहारको अवसरमा बेसीशहर नगरपालिका–३ गाउँसहरमा प्रतियोगिता आयोजना भएको हो।

Lamjung Ping

स्थानीय जनज्योति युवा क्लब, अमर गणेश बाबा समूह र गोदावरी आमा समूहको संयुक्त आयोजनामा लिंगेपिङ मच्चाउने प्रतियोगिता भएको हो। आधुनिक संस्कृतिको प्रभाव भइरहेका बेला नयाँ पुस्ताका युवाहरुले परम्परागत संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम गर्नु सराहनीय भएको स्थानीयहरुको भनाई रहेको छ।

विभिन्न ठाउँबाट आएका २२ जना युवाहरुको सहभागिता रहेको प्रतियोगितामा स्थानीय सन्तोष नेपालीले २३ फिट उचाइसम्म मच्चाएर प्रथम भए । प्रतियोगितामा स्थानीय सन्देश हिमाली दोस्रो भए। प्रतियोगिताका विजेतालाई प्रमाणपत्रसहित रु एक हजार र उपविजेतालाई रु ५०० पुरस्कार दिइएको थियो।
प्रकाशन मिति–२०७४ साल कात्तिक ३ गते शुक्रबार ।