काठमाडौ। नेपाली गीत–संगीतका महान स्रष्टा स्वर सम्राट नारायण गोपाल नहनुको पनि आजको दिनवाट २७ बर्ष पुगेको छ। विसं.२०४७ साल मंसीर १९ गते निधन भएको स्वर सम्राट नारायण गोपालको आज २७ औं स्मृति दिवस।

विसं.१९९६ साल असोज १८ गते काठमाडौको किलागल जन्मेका नारायण गोपाल जीवित भएको भए ७८ बर्षका भैसक्थ्यो। उनै स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यका सवै गीतहरु एक से एक हिट छन्। नारायण गोपालको जीवन कालमा धेरै गीत गाएका छैनन्। थोरै गीत गाएका छन्।

करिब १ सय ३६ वटा गीत गाएका नारायण गोपालका सवै गीत हिट छन्। यसले गर्दापनि नारायण गोपालका हजारौ गीत सुनिएजस्तो सवैलाई प्रतित हुने गरेको हो। नारायण गोपाल जन्मिँदा नेपालमा शास्त्रीय संगीतको स्वर्णिम युग थियो। उस्ताद् बद्री, उस्ताद् साइँला, मेलवादेवी जस्ता कलाकारको युग थियो। आफ्ना दुई मित्र प्रेमध्वज र माणीकरत्नको संगीतमा नारायण गोपालले रेडियोमा पहिलो गीत डा.राममान तृषितको गाए, जीवन पंखको स्वाद्।


त्यसपछि नारायणगोपालले रत्न शमशेर थापाका १४ गीत, ईश्वरवल्लभका ६, चेतन कार्कीका २ , भूपी शेरचनका ३, नगेन्द्र थापाका ८ गीत गाएर अनि आफ्ना मीतज्यू गोपाल योञ्जनको रचनाका २२ गीत गाएर नेपाली संगीतको स्वर्णिम युगमा महत्वपूर्ण स्थान बनाए।

नारायण गोपालले त्यसपछि किरण खरेल, लक्ष्मण लोहनी, कालिप्रसाद रिजाल, अम्बर गुरुङ, हरिभक्त कटुवाल, क्षेत्रप्रताप अधिकारी, कञ्चन पुडासैनी, चाँदनी शाह, यादव खरेल, माधव घिमिरे, नीर शाह, विश्वम्भर प्याकुर्याल, भैरवनाथ रिमाल कदम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, रवीन्द्र शाह, तुलसी घिमिरे, कुसुम कुमारी सिंह, दिनेश अधिकारी, मनवहादुर मुखिया, बालकृष्ण सम, डा.दीर्घ सिंह बम, नोर्देन रुम्बा, दिव्य खालिँग आदिका गीत गाए ।

‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत नारायण गोपालले गाएका छन्। उनका सवै कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन्।

स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोतकृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार पाएका थिए । बागीना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत रहेका नारायण गोपाल रहेका थिए।
प्रकाशन मिति–२०७४ साल मंसीर १९ गते मंगलवार ।