काठमाडौ। दुई बर्षअगाडि दक्षिण एसियाकै उत्कृष्ट चलचित्र झोला बनाउन सफल निर्माता तथा निर्देशक यादव कुमार भट्टराई यतिखेर अर्को चलचित्र भोर निर्माण गर्नमा व्यस्त रहेका छन्। चलचित्र झोला सत्तिप्रथा विरुद्धको चलचित्र थियो भने, यतिखेर सम्पादनको टेबलमा पुगिसकेको निर्देशक भट्टराईको पछिल्लो चलचित्र भोर भने दाइजोप्रथा विरुद्धको रहेको छ।

नेपालको मधेश–तराईको कथावस्तु रहेको यो चलचित्रको लेखक पनि चलचित्र झोलाकै लेखक कृष्ण धराबासी नै हुन्। झोलाको ऐतिहासिक सफलता पश्चात सोही चलचित्रको क्रेज तथा ट्रेन्डलाई कायम गर्न नेपालका अग्रज साहित्यकार समेत रहेका कृष्ण धराबासी जुर्मुराए। त्यसमा निर्देशक भट्टराई पनि कम बनेनन्। एक बर्ष त चलचित्र भोरको अध्ययनका लागि नै विभिन्न समय पारेर सात पल्ट तराई–मधेश जनकपुरको धनुषाका मिथिला क्षेत्र फन्को मारेका थिए।

Mr.Yadav Kumar Bhattarai-Vetran Film Director of Nepal.

सात पल्ट चलचित्र शुटिङकै लागि फन्को मारेर करिब एक बर्षको स्थलगत अध्ययन पश्चात आठौ पल्टको भिजिटमा शुटिङ पूरा गरेका निर्देशक भट्टराईले चलचित्र झोलामा जस्तो चलचित्र भोरमा कुनै राष्ट्रियस्तरका चिनिएका कलाकारलाई अभिनय गराएका छैनन्। नितान्त जनकपुरकै स्थानीय मिथिलाबासी कलाकारलाई नै अभिनय गराएका छन्।

चलचित्र भोरको कार्यकारी निर्मातामा देवेन्द्र प्रसाद सुवेदी, निर्माता राज तिमिल्सिना र रामगोपाल थापा रहेका छन्। चलचित्र भोरमा प्रमुख कलाकारमा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुरका साथमा मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायत रहेका छन्।

अग्रज छायाँकार दीपक बज्राचार्यले खिचेका हुन् । मैथली शव्द भोरको अर्थ विहानीको पहिलो किरण हो। त्यही किरणको कथा नै चलचित्र भोर हो। चलचित्र झोलाले जस्तै भोरले पनि बाजी मार्ने निश्चित जस्तो छ। किन कि, झोलामा भन्दा बढी मेहनत यस चलचित्रमा परेको निर्देशक भट्टराईको जिकिर र दावी रहेको छ।

प्रकाशन मिति–२०७४ साल कात्तिक १४ गते मंगलवार ।