काठमाडौ। नेपाली साहित्य विकास परिषद युकेका वरिष्ठ सहअध्यक्ष तथा कवि कोमल मल्लको कविता सङ्ग्रह ‘म देश लेख्छु’ को नेपालमा विमोचन भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा भएको उक्त कार्यक्रमको आयोजना नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टरले गरेको हो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ईल्या भट्टराईले गरेकी थिइन भने प्रमुख अतिथी वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी थिए। कार्यक्रममा स्वागत मन्तव्य कवि गोपाल पराजुलीले राखेका थिए। समालोचक महेश पौड्यालले कृतिमा देशप्रेम, शान्ति, सामाजिक सद्भाव र सहिष्णुको पक्ष समेटिएको बताए।

प्राज्ञ प्रा.डा.ज्ञानु पाण्डेले शुभकामना मन्तव्य राख्ने क्रममा कवितासंग्रह उत्कृष्ट रहेको बताए। अन्य विशिष्ट व्यक्तित्वको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम आयोजक संस्थाका सचिव डा. रेणुका सोलुले सञ्चालन गरेकी थिइन।
प्रकाशन मिति–२०७४ साल फागुन २१ गते सोमवार ।