–राजेश हिमालय
सिन्धुपाल्चोक । बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्ला स्थित इन्द्रावती गाउंपालिका वडा नंबर ४ पाराङखोरमा रहेको नवलपुर आफैमा रमणिय स्थान हो। नवलपुरमा रहेको भीमसेन मन्दिरको महत्व र यसको रोचकता अझ बेग्लै रहेको छ। नवलपुरको भीमसेन मन्दिरले धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले समेत अत्यन्त महत्व राख्ने गरेको छ। परापूर्वकालदेखि भीमसेनलाई शक्तिको प्रतिकको रुपमा समेत लिने गरिन्छ। नेपाल एकिकरणसंग सम्वन्धित अनेक रोचक किम्वदन्ती जोडिएको नवलपुर भीमसेन मन्दिर यस क्षेत्रकै प्रख्यात शक्ति पीठको रुपमा समेत लिने गरिन्छ।

किम्वदन्ती नंबर –१
नवलपुरमा भीमसेनको मन्दिर र मूति थिएन । चुच्चे ढुगाँ मात्र थियो । तत्कालिन समयमा नेपाल र भोट वीचमा व्यापारीक मार्ग यसै स्थान भएर जाने गर्दथ्यो । एक दिन भोटवाट नूनको भारी लिएर आएका भरियाहरु यस स्थानमा वास वस्न आईपुगे । साँझको खाना वनाउनका लागि भरियाहरुले तीन चुसे ढुङ्गा को चुल्हो वनाएर आगो बालेर ढिडोका लागि पानी बसाले । जव पानी उम्लिने वेला भयो । तव, ढुङ्गा हल्लिएर उक्त तातो पानी पोख्यो । धेरै पटक यो क्रम दोहोरिए पश्चात भोक र थकाईले चुर भएको भरियाले ढिडो पकाउने पन्यूले ढुङ्गा माथि हाने । तर, आश्चर्य ढुङ्गावाट दूध बग्न थाल्यो । यस्तो अचम्मको परिस्थिति देखेर भरिया भोकै सुतेछन । राती तिनै भरियाको सपनामा भीमसेन आएर म भीमसेन हुँ ! मेरो पूजाआजा गरे तिमी र तिम्रो फलिफाप हुन्छ भनेर गएछन । तिनै भरियाहरुवाट औपचारीक रुपमा चुच्चो ढुगाँलाई भीमसेन देवता मानेर पूजाआजा गर्न शुरु भएको स्थानीय वासिन्दाहरुले किम्वदन्ती भएको भनेका छन्। हाल उक्त पन्यूले हानेको चुच्चे ढुङ्गा माथिनै मन्दीर स्थापना भएको स्थानीय वासिन्दाहरुको भनाई छ।

किम्वदन्ती नंबर–२
विसं. १८८० मा नेपालमा ठूलो भूकम्प गएको र उक्त भूकम्पको कारणवाट काठमाडौको साँखुमा रहेको भीमसेन मन्दिर भत्किएपछि भीमसेनको मूर्ति अलपत्र परी वेवारिसे अवस्थामा रहेको थियो । हालको नवलपुरका वासिन्दा नकर्मीहरु काठमाडौ उपत्यका जाने क्रममा उक्त मूर्ति देखि नवलपुर गाउँमा ल्याएर स्थापना गर्न मन लागेकोले उक्त मूर्ति बोकेर आएको रहेछ। साँखुवाट उक्त मूर्ति एकै जनाले बोकेर बाँसवारीको बाहुनेपाटीसम्म ल्याएपछि अर्को साथीले बोक्न खोज्दा ४ जनाले समेत हलचल गर्न नसकेको र अन्तमा तिनै पहिले बोक्ने मानिसले बोकेर सजिलै नवलपुर ल्याई पुर्याएको भन्ने किम्वदन्तीलाई मन्दिर परिसरमा उपलव्ध विसं. १८८२ सालको शिलालेखले उक्त भनाई सत्यता नजिक रहेको अनुमान लगाउन सकिन्छ ।

किम्वदन्ती नंबर–३
विसं. १८२५ सालमा गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौ उपत्यकाका ३ वटै राज्यहरुमा बिजय प्राप्त गरी सके पश्चात नजिकका राजा रजौटाहरु माथि समेत बिजय हासिल गर्ने क्रममा हालको नवलपुर छुटै राज्यमाथि पनि आक्रमण भएको थियो। हालको मेलम्ची नगरपालिका ज्यामिरे स्थित क्यौले थानामा तत्कालिन कैदीहरुलाई राख्ने थाना रहेको भन्ने जनभनाई रहेको छ । त्यसै गरी नवलपुर पाराङखोरमा घोडा वाँध्ने तवला रहेका साथै टुँडीखेल समेत रहेको र हाल उक्त टुँडीखेल ठूला वारीको पाटोमा रुपान्तरित भएको छ । त्यसै गरी नवलपुर गलान्दीमा रहेको बाटुले चौर ( जुन अहिले पनि यस क्षेत्रको आकर्षणको केन्द्रको रुपमा रहकोछ।) मा सेनालाई परेड खेलाउने गरिन्थ्यो भन्ने स्थानीयहरुको भनाई रहेकोछ । नवलपुरलाई समेत नेपाल राज्यमा गाभ्नका लागि नवलपुर आक्रमणका लागि आउने क्रममा बाहुनेपाटी वाट ईन्द्रावती नदी तरेर आउन लाग्दा उनका सेनाहरुको दृष्टि गुमेको नवलपुर तिर हेर्दा केही नदेखिने र काठमाडौ तिर हेर्दा देखिने क्रम ८ पटक सम्म चलेको किम्वदन्ती रहेको छ। अन्तमा पृग्वीनारायण शाहका ज्योतिषी कुलान्द जैशीलाई के भएको हो भनेर देखाउँदा उनले यस स्थानमा प्रख्यात भीमसेन रहेको र उक्त भीमसेनलाई भाकल गरेर गुठी राख्नु र जितिन्छ भनेर सुझाव दिएको भन्ने जन विश्वास रहेको छ। तत्पश्चात पृथ्वी नारायण शाहले नवलपुर भीमसनको गुठी स्थापना गरी वर्षमा कात्तिक पूर्णिमाको दिन पूजा पाठ गर्नका लागि १२ मुरी धान र बोका तथा पातहरु समेत सिम्पाल काभ्रे ढाँडेवाट स्थानीय मगर समुदायहरुले ल्याउने व्यवस्था गरेको पाईन्छ। उक्त भाकल पश्चात नवौं पटकको आक्रमणमा नवलपुर राज्यमा जित हासिल गरे पश्चात अचम्म मानेर पृथ्वी नारायण शाहले उक्त स्थानको नाम नौलोपुर राखेको र पछि अपभ्रशं भएर नवलपुर रहन गएको भन्ने स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । त्यस पूर्व उक्त स्थानलाई स्थानीय भाषामा थकान भन्ने गरिन्थ्यो ।
पृथ्वी नारायण शाहले नवलपुर भीमसेनको भाकलगरी स्थानीय नकर्मी समुदायवाट पूजारी राख्ने काम भएको र हाल सम्म पनि नकर्मी समुदायकै पूजारी रहने व्यवस्था निरन्तर रहेको पाईन्छ । कात्तिक पूर्णिमाको दिन सरकारी गुठीको नामले नकर्मी समुदायवाट पूजा गरे पश्चात मात्र अन्य समुदायले पूजा गर्न पाउने प्रचलन विद्यमान रहेको छ।

कात्तिक महिना र चर्तुमास भजन
विसं. २०१८ सालवाट नवलपुरका स्थानीय नेवार समुदायहरुले कोजाग्रत पूर्णिमा देखि कोजाग्रत पूर्णिमासम्म महिना भरी साँझको समयमा दैनिक भीमसेन मन्दीरमा भजन कीर्तन गर्ने गरिन्छ । कार्तिक पूर्णिमामा रथलाई सिगाँरपटार गरी स्थानीय टोलहरुमा परिक्रमा गराउने र घरघरमा बोका, कुखुरा र हाँसको बली दिई भाकल पूजाआजा गर्ने गरिन्छ । सोको भोलिपल्ट रथलाई पुनः मन्दिरमा लगि विश्राम गराईन्छ।

आकाश दीप
नवलपुरका केही नेवार समुदायले कोजाग्रत पूर्णिमा देखि कात्र्तिक पूर्णमा सम्म घर आँगनमा बाँसको लिगों गाडी बाँसको टुप्पामा डोरीको माध्यमवाट साँझको समयमा आकाश दिप प्रज्वलन गर्ने समेत गर्दछन । नवलपुर भीमसेन मन्दिर विसं.२०७२ सालको विनासकारी भूकम्पको कारण भत्किन गएको र हाल पुरातत्व विभागले पूनःनिर्माण गरे पश्चात पूर्ववत स्वरुपमा आएको छ । यस मन्दिरलाई शक्ति पीठको रुपमा समेत प्रख्यात रहेकोले बडा दशैंको फूलपाती देखिनै भाकल बुझाउने तथा बली दिनेहरुको भीड लाग्दछ ।

प्रकाशन मिति–२०७८ साल असोज २८ गते विहीवार ।