काठमाडौ। नाइजेरियाबाट चिम्पान्जीलगायतका वन्यजन्तु तथा पशुपक्षी अवैधरुपमा नेपाल ल्याउने काममा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान भन्सार कार्यालयका नायवसुब्बा चूडामणि दाहाल र पशु क्वारेन्टाइन कार्यलय काठमाडौंका पशु स्वास्थ्य प्राविधिक धीरेन्द्रबहादुर शाहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरोले गत असोज ३१ गते चिम्पान्जी, नाइजेरियन बाँदरलगायतका पशुपक्षी काठमाडौंबाट बरामद गरेको थियो। प्रहरीले सो कार्यमा संलग्न ६ जनालाई पनि पक्राउ गरी अनुसन्धान जारी राखेको थियो । सोहीक्रममा दाहाल र शाहलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दाहालले नै विमानस्थल भन्सार कार्यलयमा चेकजाँच गर्ने र चिम्पान्जी ल्याएको बाकसको जाँच नै नगरी भन्सार एजेन्ट राजकुमार तिवारीसँग मिलेर पास गराउने गरेको ब्यूरोले जनाएको छ। शाहले चिम्पान्जीसहितको सामान आएको समयमा विमानस्थलमा पशु क्वारेन्टाइन चेकजाँच नगरी क्वारेन्टाइनको पत्र तिवारीलाई उपलब्ध गराउने गरेको ब्यूरोले जनाएको छ।

प्रहरीले नाइजेरियाबाट टर्की, इस्तानबुलको हवाईमार्ग हुँदै नेपाल ल्याएको सो वन्यजन्तु र पशुपक्षीहरु नेपालबाट भारतलगायतका अरु मुलुकमा लैजानेक्रममा असोज ३१ गते अन्तर्राष्ट्रिय गिरोहका सदस्य पाकिस्तानी र भारतीय नागरिक गरी ६ जनालाई पक्राउ गरेको थियो।

सोही दिन प्रहरीले चिम्पान्जी दुईओटा, नाइजेरियन बाँदर ८ ओटा, गोल्डेन फेजन चरा ७ ओटा, रिङनेट फेजन चरा दुईओटा, परेवा ३८ ओटा र सुगा ६५ ओटा काठमाडौंको बाँसबारीस्थित सन्जीव भारीको घरबाट बरामद गरेको थियो।
प्रकाशन मिति–२०७४ साल मंसीर ८ गते शुक्रबार ।