काठमाडौं। नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशन आगामी चैत्र १४–१७ गते हुने भएको छ । सोमवार बसेको महासंघ राष्ट्रिय कमिटीको ८९ औं बैठकले महाधिवेशनको नारा सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवि वर्ग तय गरेको छ।

राष्ट्रिय कमिटी बैठकले आगामी मार्च ८ तारिखका दिन महिला सम्मेलन आयोजना गर्ने समेत निर्णय गरेको छ। आगामी २०१८ फेब्रुअरी महिनामा युवा सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ। सम्मेलनको मिति पछि तय हुने महासंघका महासचिव विष्णु लम्सालले बताएका छन्।

जिफन्टले प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको निर्वाचन परिणाम तुरुन्त सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गर्दै अनावश्यक ढिलाई नगर्न र सरकार तथा नेपाली काँग्रेसको प्रवक्ता जस्तो नबन्न ध्यानाकर्षण गरेको छ।

बैठकमा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले समसामयिक राजनीति र आगामी दिनमा ट्रेड यूनियनले खेल्नुपर्ने भूमिकाका विषयमा मन्तव्य राखेका थिए । प्रतिनिधि परिषद प्रमुख मुकुन्द न्यौपानेले बाम एकता भाँड्न चलखेल भइहेको भन्दै त्यसमा चनाखो भइ जिफन्ट कार्यकर्ताहरु एक भएर अगाडि बढ्न आव्हान गरेका छन् ।

जिफन्ट अध्यक्ष रिमालले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठवन्धनले ठूलो विजय हासिल गरेको भन्दै महासंघको तर्फबाट गठवन्धनका दलहरु र विजयी उम्मेदवारहरुलाई बधाई दिएका छन्। अध्यक्ष रिमालले जिफन्ट एकिकृत ट्रेड यूनियन आन्दोलनको पक्षमा रहँदै आएको स्मरण गर्दै आगामी दिनमा अन्य ट्रेड यूनियनहरुसँगको एकता प्रकृयालाई निरन्तरता दिने बताएका छन्।
प्रकाशन मिति–२०७४ साल पुष १८ गते मंगलवार ।