Nirwachan Ayogकाठमाडौ। निर्वाचन आयोगले आज बुधबार देखि चुनावी आचारसंहिता लागू गरेको छ। आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिता जारी भैसकेकोले आयोगले यसलाई पालना गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।

१९ बुँदे स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन आयोगले बुधबार उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर त्यसबारेमा जानकारी दिएको हो। आयोगले आचारसंहितालाई पूर्णरुपमा लागू गर्न निर्देशन दिएको छ। प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिए।

डा.यादवले निर्वाचनकाक्रममा अज्ञानता माफी नहुने पनि प्रस्ट पारे । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार, दल, मतदाताको सुरक्षाका लागि पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले निर्वाचनमा हेलिकोप्टर प्रयोगमा पूर्ण बन्देज लगाएको छ भने मन्त्रीहरुलाई कामका लागि जिल्ला सदरमुकामसम्ममात्र जान निर्देशन दिएको छ।

आयोगले उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण, जुलुस–आमसभा–र्‍याली, बैठक तथा भेला गर्दा अपनाउनुपर्ने आचरण, सवारी–साधन प्रयोगसम्बन्धी आचरण, निर्वाचन खर्चलगायतकाबारेमा जानकारी गराएको छ। कार्यक्रममा मन्त्री तथा प्रमुख निर्वाचन आयुक्त वीच आचार संहिताको बारेमा कडक रुपमा प्रश्न तथा प्रतिप्रश्न भएको थियो।

प्रकाशन मिति–२०७३ साल फागुन १८ गते बुधवार ।