ललितपुर। नृत्य निर्देशन जस्तो श्रृजनात्मक क्षेत्रमा संलग्न नृत्य निर्देशकहरु बोल्ने क्षेत्रमा अगाडि आउन नसक्दा राज्यको कानसम्म आफ्ना कुराहरु पुर्याउन नसकिएको नृत्य निर्देशकहरुको गुनासो रहेको छ। सोही कुरालाई दुर गर्नका लागि नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले एक हप्ते उदघोषण कला तालिमको आयोजना गरेको छ।

विशेषत नृत्य निर्देशकहरुलाई टार्गेट गरेर आयोजना गरिएको उक्त तालिम कार्यक्रम सफलतापूर्वक संपन्न भएको छ। समापन कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय महासचिव नृपध्वज खत्रीले कतिपय अवस्थामा बोल्न आउँदैन भन्दै नृत्य निर्देशकहरु आफैंले आफैंलाई पछाडि धकेल्दै गएको भन्दै दुःख व्यक्त गरेका छन्।

हरेक कार्यक्रम वा गतिविधिमा अन्य कलाकार, प्राविधिकहरुलाई बोल्नको लागि मञ्च उपलब्ध गराइने अवस्थामा नृत्य निर्देशकहरुलाई भने बोल्न दिनुपर्ने आवश्यकता नै महशुश नगर्ने खत्रीकोे गुनासो रहेको छ। आवश्यक स्थानमा सही तरीकाले आफ्ना कुरा राख्ने सकिने अवस्थामा राज्यले पनि आफ्ना समस्यामा ध्यान दिने पक्षमा खत्रीले जोड दिएका छन्।

उद्घोषण तालीमका प्रशिक्षक सशक्त संचारकर्मी बिराजकाजी राजोपाध्यायले नृत्य निर्देशन जस्तो श्रृजनात्मक कार्यमा संलग्न कलाकारहरुले सफल वक्ता वा उद्घोषक बन्ने बिचार बनाउनु निकै सकारात्मक भएको जिकिर गरेका छन्। ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुपकुमार शाक्यले हरेक क्षेत्रमा संलग्न व्यवसायी, पेशाकर्मीले बोल्ने कला सिक्नु नै पर्नेमा कुरामा जोड दिए।

ललितपुर महानगरपालिका वडा नं. ५का वडाध्यक्ष विकासमान श्रेष्ठले हरेक क्षेत्रमा वाक कलाको आवश्यकता रहनेमा जोड दिए। त्यसैगरी संघका केन्द्रिय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले संघका विभिन्न गतिविधि र योजनाको बारमा जानकारी दिएका थिए।

नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाका अध्यक्ष गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुवंशीले शाखाको भावी योजनाको बारे जानकारी दिंदै निकट भविष्यमै संस्थाबाट ताल सम्बन्धि कार्यशालाको आयोजना गर्ने बताएका छन्। अध्यक्ष रघुवंशीले संघबाट चर्या नृत्यमै ध्यान केन्द्रित गर्दै अगाडि बढ्ने भनेका छन्।

समापन समारोहमा तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई ललितपुर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए। साथै वडाध्यक्ष श्रेष्ठले प्रशिक्षक बिराजकाजी राजोपाध्याय र तालीमका लागि स्थान उपलब्ध गराउनुहुने प्रगति आदर्श स्कुलका प्रधानाध्यापक रमेश शाक्यलाई पनि मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा संमुक्ता शर्मा राजोपाध्यायबाट मन्जुश्री नृत्य र राजीब बज्राचार्य, सुनिता महर्जन, श्रृजना माया तामाङबाट नेवार लोकनृत्य प्रस्तुत गरेका थिए। आयोजक संघ ललितपुर शाखाका सचिव अनुप शाक्यबाट स्वागत गरिएको कार्यक्रमा कोषाध्यक्ष मजुना डंगोलले धन्यवाद व्यक्त गरेकी थिइन्। एक हप्ते उदघोषण कला तालिममा १२ जनाको सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७४ साल पुष ९ गते आइतवार ।