काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगर्तको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। नेदरल्यान्ड्सको घरेलु मैदान भीआरमा भएको खेलमा नेपालले नेदरल्यान्ड्ससँग पहिलो खेलमा बेहोरेको पराजयको बदला लिँदै १९ रनले पराजित गरेको छ।

Criket in Nederland 1

निर्धारित ५० ओभरको खेलमा २ सय १८ रनको विजय लक्ष्य पछ्याएको नेदरल्यान्ड्स खेलमा ९ बल बाँकी रहँदै आफ्ना सबै विकेट गुमाउँदै मात्र १ सय ९८ रनमा सिमित भएको थियो। नेदरल्यान्ड्सले जारी च्याम्पियनसिपमा पहिलो पराजय बेहोरेको छ। यसअघिका ७ खेलमा अपराजित रहेको नेदरल्यान्ड्सले नेपालसँग १९ रनको पराजय बेहोरेको हो। नेदरल्यान्ड्स अंकतालिकाको शीर्ष स्थानमा कायम छ। उसले ८ खेलबाट १२ रन जोडेको छ भने नेपालले ८ खेलबाट मात्र ३ खेलमा जित हासिल गर्दै ६ अंक जोडेको छ र समान अंक जोडेको केन्याभन्दा पछाडि छैटौँ स्थानमा रहेको छ।

Criket in Nederland 2

सोमबारको जितपछि नेपाल विश्वकप छनोटका लागि छनोट हुने सम्भावना जिवित रहेको छ। अब नेपालले अन्य सबै खेलमा जित हासिल गरे सहजै विश्वकप छनोटमा स्थान बनाउने पक्का छ। नेदरल्यान्ड्सको टोलीका लागि भान डर मर्वीले सर्वाधिक ५६ रन जोडेका थिए। यस्तै, तिम ग्रुइज्टर्सले ४४ रन, भान डर गग्टेनले ३६ रन, म्याक्स ओडोव्डले ३५ रन जोडेका थिए। नेदरल्यान्ड्सलाई उक्त स्कोरमा समेट्नका लागि सोमपाल कामी, पारस खड्का र बसन्त रेग्मीले समान २-२ विकेट लिएका थिए। यस्तै, शक्ति गौचन, सन्दीप लामिछाने र सागर पुनले समान १-१ विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय १७ जोडेको थियो। नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी खेल्दै ८४ रनको योगफल तयार गरेका थिए। उनले ९४ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतले उक्त योगफल खडा गरेका हुन्। उनको यो च्याम्पियनसिपमा तेस्रो अर्धशतक हो। उनीसँग १ सय १८ रनको साझेदारी गरेका सागर पुनले पनि उत्कृष्ट ब्याटिङ गर्दै ४५ रन जोडेका छन्। उनले ७८ बलको सामना गर्दै २ चौकाको मद्दतले उक्त रन जोडेका हुन्। यस्तै, प्रारम्भिक ब्याटस्म्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन, विनोद भण्डारीले १६ रन, शरद भेषावकरले ६ रन, अनिल मण्डलले ४ रन जोडेका थिए।
(एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल साउन ३१ गते सोमवार ।