Mr.Rabin Piya-Vetran Cartonist Artist of Nepal

काठमाडौ। लामो समयको अमेरिका प्रवासमा रहेका नेपालका कुनैबेलाका चर्चित कार्टुनिष्ट कलाकार रविन पिया केही दिनको लागि नेपाल आएका छन्। कलाकार पियाले नेपाल बसाईको क्रममा नेपालको सामाजिक गतिविधिमा संलग्न हुने क्रममा काठमाडौको रविभवन सोल्टीमोडस्थित आमाघरमा आश्रित ३० जना बृद्धा आमाहरुलाई सामाजिक भोजन गराएका छन्।

लामो समय प्रवास अमेरिका बसाईमा सिकेका सामाजिक कार्य तथा संभावनालाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ भन्ने अभिप्रायले हरदम चिन्तनशील बन्ने गरेका कलाकार पियावाट यसप्रकारका सामाजिक कार्य बेला–बेलामा हुंदैआएको छ। अमेरिकामा रहेको बेलामा पनि विभिन्न बालआश्रम तथा बृद्धाश्रमहरुलाई त्यहां संकलित सहयोगलाई नेपाल पठाएर प्रशंशनीय कार्य कलाकार पियावाट हुंदैआएको छ।

त्यसक्रममा नेपाल आएर आफैले नेपालको चिसोमा न्यानो माया तथा मिठो–मसिनो भोजन आफ्नै हातवाट खुवाउन पाउंदा अत्यन्त गर्ब लागेको कलाकार पियाले भिजन संसारसंगको कुराकानीमा भनेका छन्। आमाघरमा आश्रित हजुरआमाहरुको पनि आमा अनि सवैको श्रद्धा अनि भावनाकी आमा दिलशोभा श्रेष्ठले पनि कलाकार पियाबाट बेला–बेलामा यसरी नै सामाजिक भोजन कार्यक्रम गर्ने र सहयोग गर्ने कार्य हुंदैआएको बताएकी छन्।

कलाकार पियालाई सामाजिक भोजन कार्यक्रममा त्यहाँ आश्रित बृद्धा आमाहरुले खुशी र सुखी जीवनको लागि आशीर्वाद समेत दिएका थिए। कलाकार पिया कुनैबेला लाखौ पाठकको प्रिय पत्रिका कामनाको डिजाइनर तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका कार्टुनिष्ट कलाकार थिए। उनको कलाकारिता तथा तिखो व्यंग्यमा अझैपनि पाठकहरु रम्ने गरेका छन्।

अमेरिका पुगेपछि पनि त्यहाँवाट निस्कने विश्व सन्देश साप्ताहिक लगायतका पत्र–पत्रिकामा उनको रोचक अनि घोचक रमाइला कार्टुन कलाकारिता प्रकाशित हुंदैआएको छ। कलाकार पिया कला र जीवन आफ्नो परिपूरक बनिसकेको बताउंछन्। अमेरिकामा पनि कलाकारिता नै गर्ने गरेको खुलासा गरेका छन्।


प्रकाशन मिति–२०७४ साल पुष ४ गते मंगलवार ।