काठमाडौ। नेपालका ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बिहीबार दोस्रो चरणमा भएको निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ। ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि मतदान भएको हो।

निर्वाचन आयोगले ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। कतिपय जिल्लामा ७१ प्रतिशतसम्म मतदान भएको पनि निर्वाचन आयोगले जनाएको छ। अर्घाखाँचीको सन्धीखर्कस्थित दुईओटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। आयोगले उक्त केन्द्रको निर्वाचन पनि छिट्टै गराउने जनाएको छ। दोस्रो चरणको निर्वाचनअन्तर्गत् बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो।

आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले मतपेटिका संकलन गर्ने कार्य सुरु भइसकेको र मतपेटिकाहरु संकलन पूरा हुनासाथ मतगणना सुरु हुने बताएका छन्। दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६६३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।

त्यसैगरी, प्रदेशसभातर्फ २ हजार ८१९ जना उम्मेदवानर प्रतिस्पर्धामा उत्रिएका छन्। मतदानका लागि ७ हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र निर्धारण गरिएको थियो। दोस्रो चरणको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाता सहभागी भएका थिए।


प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।