लन्डन। लन्डनस्थित नेपाली दूतावासमा नेपालको राष्ट्रिय दिवस मनाउन मंगलबार आयोजित एक समारोहमा बेलायती विदेश मन्त्रालयकी दक्षिण एसिया प्रमुख लाउरा क्लार्कले नेपालको समृद्धिका लागि निरन्तर साथ रहने अठोट व्यक्त गरेकी छन्।

क्लार्कले बेलायत सरकारको प्रतिनिधित्व गर्दै नेपालको राष्ट्रिय दिवस मनाउन पाएकामा खुशी व्यक्त गरिन्। उनले दुई शताब्दीदेखि बेलायत नेपाल सम्वन्ध ज्यादै बलियो रहेको उल्लेख गर्दै बेलायतमा नेपाली जनसंख्या ८० हजार बढी रहेको र प्रत्येक वर्ष करिब ३० हजार बेलायती नेपाल भ्रमणमा जानुले पनि आपसी सम्वन्ध प्रगाढ रहेको पुष्टि गरेको उल्लेख गरिन्।

nepal-uk-friendship

बेलायतले भूकम्पपछि तत्काल राहत र पुनर्निर्माणमा उल्लेख्य आर्थिक सहयोग गरेको जनाउँदै क्लार्कले भर्खर मात्र चिभिनिङ छात्रवृत्तिमा नेपालबाट १३ जना विद्यार्थी विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा पढ्न बेलायत आएका सुनाइन्। उनले नेपालले संयुक्त राष्ट्रसंघको शान्ति स्थापक सेनामा विश्वकै छैटौं ठूलो संख्यामा सेना पठाएर सहयोग गरिरहेको प्रसंग पनि उठाइन्।

नेपालमा नयाँ संविधान जारी गरिएको दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवस (नेशनल डे) मनाउने निर्णय गरे बमोजिम दूतावासले मंगलबार अपरान्ह कार्यक्रम गरेको हो। कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवहाक राजदूत शरदराज आरनले नेपाल र बेलायतको सम्वन्ध झन् मजवुत बन्दै गएको बताए। उनले बेलायत नेपालबीच लामो ऐतिहासिक सम्वन्ध रहेको बताउंदै यस वर्ष दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष मनाइएको अवगत गराए।

आरनले गत मार्च तेश्रो साता राजकुमार ह्यारी नेपाल भ्रमणमा गएको स्मरण गर्दै यसले बेलायती नागरिकमाझ नेपालबारे थप जानकारी र सदभावना वृद्धि भएको पनि उल्लेख गरे । कार्यवहाक राजदूत आरनले नेपालले गत वर्षको भूकम्पपछि बेलायतबाट ठूलो सहायता पाएको जनाउँदै कृतज्ञता समेत व्यक्त गरे।
प्रकाशन मिति–२०७३ साल असोज ५ गते बुधवार ।