Tuyumati 1काठमाडौ। नेपालभाषा फिल्म फेस्टिबलमा समेत छनौटमा परेको नेपालभाषाको बहुचर्चित चलचित्र तुयुमतिको ग्राण्ड प्रिमियर लण्डनबाट हुने भएको छ। पासा पुच युकेको आयोजनामा नयाँ बर्ष २०१६ को जनवरी ३१ का दिन लण्डनको ह्यारोको सफारी सिनेमा हलमा चलचित्र तुयुमतिको ग्राण्ड प्रिमियर हुने जानकारी चलचित्र तुयुमतिका निर्माता तथा अभिनेता मनिषकुमार श्रेष्ठले बताएका छन्।

त्यसको लगतै फरवरी २८ का दिन एसियन कम्युनिटी सेन्टर प्लमस्टिडमा पनि प्रदर्शन गरिने पनि अभिनेता श्रेष्ठ भन्छन्। ह्यारोमा लण्डनको समय अनुसार दिउंसो १.३० बजे ग्राण्ड रिलिज हुने भएको छ भने, प्लमस्टिडमा साँझ ६ बजे शुरु गरिने भनिएको छ। चलचित्र तुयुमति प्रदर्शनको व्यवस्थापन कार्यमा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज युकेले पनि सघाउने भएको छ। चलचित्र प्रदर्शन पश्चात मध्यरातसम्म डिजेको प्रोग्राम समेत हुने भनिएको छ।

Tuyumati 2 releaseलण्डनमा प्रदर्शन गरिने चलचित्र तुयुमतिको दुवै शोको प्रति टिकटको मूल्य १० पाउण्ड राखिएको छ। जसवाट संकलित रकम अन्तरराष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गर्ने रंग–यात्रा अभियानमा खर्चिने भएको छ। लण्डन र नेपालमा छायाँकन गरिएको नेपालभाषामा निर्माण भएको पहिलो चलचित्र तुयुमतिमा विशेषत नेपाल र लण्डनकै कथाबस्तु रहेको छ।

नेपालभाषामा निर्माण भएतापनि चलचित्रमा अंग्रेजी सवटाइटलिङ्ग पनि राखिएको छ। लण्डनमा रहेका नेपाली कलाकारहरुको समेत अभिनय रहेको चलचित्र तुयुमतिमा बरिष्ठ हाँस्य–अभिनेता मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, राजमति हिसिला महर्जन, मणिराज लवट, राजेन्द्र खड्गी, धीरेन शाक्य, सुशील प्रजापति, गणेशराम लाछी, विष्णु प्रजापति, रामकृष्ण शिल्पकार, विनोद चिपालु, अनु श्रेष्ठ, आयुष्मा श्रेष्ठ, मार्ता हाक्युन्स, यादव भण्डारी लगायतका कलाकारका साथमा प्रमुख भूमिकामा अर्णेश्वरी शिल्पकार र मनिषकुमार श्रेष्ठको अभिनय रहेको छ।

चलचित्रमा अनु श्रेष्ठको निर्माण तथा मनिष श्रेष्ठको कथा रहेको चलचित्रमा पटकथा, संवाद र निर्देशन आर एम नकर्मीको छ। तुयुमतिमा हरिशरण मानन्धर र सुमन कपालीको संगीत, मदनकृष्ण श्रेष्ठ र बबिन प्रधानको पाश्र्व गायन छ भने विनोद चिपालुले द्धन्द्ध र कृष्णभक्त महर्जन तथा दीपा शाक्यले नृत्य निर्देशन गरेका छन।चलचित्रलाई कुशल श्रेष्ठले छायांकन र मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन। दिपक श्रेष्ठ र देबेन्द्र श्रेष्ठ सह निर्माता रहेको चलचित्रमा पासा पुच यूके, भैरव नाच गुठी यूके तथा नेपाल, हलिं नेवा गुठी नेपाल लगायतको विशेष सहयोगी छन्।

प्रकाशन मिति–२०७२ साल पुष ५ गते आइतबार ।