Izaraily Film Festival in Nepalकाठमाडौ। चलचित्रका माध्यमबाट नेपाल र इजरायल बीचको सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौमा ११औँ इजरायली चलचित्र महोत्सव सुरु भएको छ। इजरायली राजदूतावास र नेपाल चलचित्र समाजले संयुक्त रुपमा आयोजना गरेको महोत्सवको सभामुख ओनसरी घर्तीवाट उदघाटन भएको छ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सभामुख घर्तीले नेपाल र इजरायल बीचको सरकारीस्तरको सम्बन्धलाई चलचित्र महोत्सव जस्ता सांस्कृतिक कार्यक्रमले अझ सुमधुर तुल्याउने र त्यसले जनस्तरमा पनि आपसी सम्बन्ध अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्। नेपालका लागि इजरायलका राजदूत यारोन मायरले विगत एक दशकदेखि बर्सेनी आयोजना हुँदै आएको चलचित्र महोत्सव काठमाडौंमा मात्र सीमित रहेकामा यसपटक सुन्दर नगर पोखरा र पूर्वको व्यापारिक केन्द्र विराटनगरमा समेत आयोजना हुन लागेको जानकारी दिए।

समाजका अध्यक्ष कृष्ण मल्लले धन आर्जन गर्न मात्र नभई कला र संंस्कृतिको प्रवद्र्धनमा यस्ता महोत्सव प्रभावकारी हुने बताए। काठमाडौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा बुधबारदेखि शुक्रबारसम्म यस चलचित्र महोत्सव सञ्चालन हुने भएको छ। पोखरामा भने पोखरास्थित ओआरटुके रेस्टुरामा यही असार १४ देखि १६ गतेसम्म र विराटनगर उद्योग वाणिज्य सङ्घको प्रेक्षालयमा असार २२ देखि २४ गतेसम्म इजरायली चलचित्र देखाइने छ । उक्त महोत्सवमा चलचित्र हेर्न चाहनेले कुनै शुल्क तिर्नु नपर्ने इजरायली दूतावासले जनाएको छ।

प्रकाशन मिति–२०७४ साल असार ६ गते मंगलवार ।