काठमाडौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासको मूल्यवृद्धि गरेको हो ।

LP Gyas

मूल्यवृद्धिसँगै अब प्रतिसिलिन्डर ग्यासको बजार मूल्य १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ। यसअघि प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय २५ रुपैयाँ थियो। इन्डियन आयल कर्पोरेसन आईओसीले बुधबार पठाएको नयाँ मूल्यअनुसार प्रतिसिलिन्डरमा १ सय २ रुपैयाँ बढेर आएकाले पनि स्थानीय बजारमा मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले भनेको छ।

निगमलाई ग्यासमा घाटा बढ्दै गएकाले मूल्य बढाइए पनि अन्य पेट्रोलियम पदार्थमा भने मूल्य यथावत राखिएको निगमले उल्लेख गरेको छ। ग्यासमा प्रतिसिलिन्डरमा २५ रुपैयाँले मूल्य वृद्धि गरे पनि निगमलाई अझै प्रतिसिलन्डरमा १ सय ६२ रुपैयाँ घाटा रहेको निगमका प्रवक्ता भानुभक्त खनालको भनाई रहेको छ।

Petrolआईओसीले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनमा समेत मूल्य बढेर आएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा पाँच, डिजेलमा २ र हवाई इन्धनमा ८२ पैसा भारु बढेर आएको छ । व्यापक विरोध हुने डर तथा गठवन्धनको सरकारमा असर पर्ने देखिएकोले पेट्रोलमा भने मूल्य बृद्धि गर्न निगमले आँट गर्न सकेन।यस्तै निगमलाई प्रतिलिटर डिजेलमा घाटा ३ रुपैयाँ १७ पैसा पुगेको छ।

डिजेल र ग्यासको कारोबारमा निगमले घाटा बेहोरे पनि पेट्रोल, मटितेल र दुई प्रकारका हवाई इन्धनमा नाफा छ । तर पछिल्लो पटक भारतबाटै मूल्य बढेर आएकाले नाफा घट्दै गएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा समेत मूल्य बढेर आएकाले नाफा घटेर ५६ पैसामा झरेको निगमले स्पष्ट पारेको छ।
प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।