kalejoकाठमाडौ। नेपालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ। भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले भक्तपुरकै कलेजो रोगी विरामी बलराम नागामाको कलेजोको सफल प्रत्यारोपण गर्न सफलता प्राप्त गरेपछि संभव भएको हो।

विहीवार आफ्नै दिदी सानुमायाँ लागेजुले भाई नागालाई कलेजो दान गरेपछि केन्द्रले निःशुल्क प्रत्यारोपण गरेको र अहिले दुबै विरामीको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

दक्षिण कोरियाको सियोलस्थित सामसुङ्ग मेडिकल सेन्टरबाट आएका पाँच जना विशेषज्ञ र नेपालका आठ जना विशेषज्ञको संयुक्त टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको डा. श्रेष्ठले जानकारी दिए।

उनले कलेजो प्रत्यारोपणका लागि केन्द्रसँंग आवश्यक सबै पूर्वाधारहरु रहेको पनि बताए। डा. श्रेष्ठले नेपालमा.१५ लाख रुपैयाँमै कलेजो प्रत्यारोपण गर्न सकिने जानकारी पनि दिए। स्वास्थ्य मन्त्री गगन थापाले नेपाली स्वास्थ्य क्षेत्रमा यो ठूलो उपलब्धि भएको चर्चा गर्दै यसलाई निरन्तरता दिन सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताए।
प्रकाशन मिति–२०७३ साल मंसीर २३ गते विहीवार ।