indian-presidents-nepal-visit-2

काठमाडौ। भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकिय भ्रमणमा बुधवार आएदेखि नेपाली जनतालाई तनावै तनाव भएको छ। हालसम्म नेपालको भ्रमणमा आएका विदेशी राष्ट्रपति तथा प्रधानमन्त्रीलाई त्यस्तो कडा सुरक्षा प्रदान गरिएको थिएन। भारतीय राष्ट्रपति मुखर्जी आउंदा यति धेरै कडा सुरक्षा प्रदान गरिनु र उनी आतेजाते गर्ने सडकहरुमा अघोषित रुपमा कफ्र्यु लगाएजस्तो गरेर आगमनमा अवरोध गर्ने कार्य बुधवार जस्तै विहीवार पनि देखियो।

indian-presidents-nepal-visit-4

विहीवार पनि काठमाडौका सडकहरु कतै अस्तव्यस्त त कतै ठप्प नै पार्न नेपाल सरकारले सफलता पाएको देखियो। भारतीय राष्ट्रपतिको भ्रमणको नाममा नेपाल सरकारले नेपाली जनतालाई दिएको सास्ती र दुःखको बारेमा व्यापक विरोध भैरहेको छ। कही नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै यिनै भारतीय राष्ट्रपति आएको दिन बुधवार सार्वजनिक विदा नै दिएर दुनियाँलाई हँसाउन नेपाल सरकार सफल भएको छ।

indian-presidents-nepal-visit-5

भारत प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार यतिधेरै लाचार तथा लम्पसार पर्नु रहस्यमय भएको छ। भारतीय राष्ट्रपतिको सवारीको बेलामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सवै उडानहरुलाई अवरुद्ध पारिनु तथा सडकमा कफ्र्यु लागेको जस्तो ठप्प वनाउनु अत्यन्त निन्दनिय कार्य भएको छ।

इमरजेन्सी विरामी लिएर अस्पताल जान लागेका तथा अस्पतालमा जीवन–मृत्युसंग लडिरहेका विरामीका लागि रगत लिएर अस्पताल जान खोज्नेहरुलाई समेत सडकमा रोकेर जानै नदिएका विभिन्न घटनाक्रम तथा समाचार संकलनका लागि ती सडकमा पैदल यात्रा गर्ने पत्रकार मोहन बाँस्तोला जस्तालाई लछार–पछार गरेर प्रहरीले भ्यानमा कोचेर घण्टौ हिरासतमा लिनुजस्ता अप्रिय घटनाले बर्तमान सरकार निक्कै आलोचित बनेको छ।

indian-presidents-nepal-visit-3

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणवाट काठमाडौ उपत्यकाका नेपाली जनताले भोगेको समस्या शुक्रबार पोखरा र जनकपुरका नेपाली जनताले पनि भोग्नु पर्ने देखिएको छ। पोखरामा पोखराको विमानस्थलमा विहान १० वजेपछि सवैखाले उडानहरु रद्द गरिने भएको छ। पोखराका सडकहरु पनि ठप्प हुने भएको छ। जनकपुरमा पनि यही अवस्था हुने भएको छ। शुक्रबार सांझ भारतीय राष्ट्रपति मुखर्जी भारत फर्केपछि मात्र नेपालमा नेपाली जनताले राहत पाउने देखिएको छ।
प्रकाश मितिन–२०७३ साल कात्तिक १८ गते विहीवार । नेपाल संवत कछला चौथी ।