काठमाडौ। आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस । विसं.२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने कार्य भएको छ।

१ सय ४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं.१९९७ साल माघमा बलिदानी दिएका थिए।

प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो।

विसं.२००० सालपछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाल राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो।

प्रकाशन मिति–२०७४ साल फागुन ७ गते सोमवार ।