काठमाडौ। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री तथा चर्चित नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार साँझ सभापति देउवा र नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

साँझ सभापति देउवा र नेता सिंहले निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठ समक्ष उम्मेदवारी दर्ता गराएका हुन्। सभापति देउवाले नेता बालकृष्ण खाँडमार्फत् उम्मेदवारी दर्ता गराए भने प्रकाशमान सिंह स्वयम् उपस्थित भएर उम्मेदवारी दर्ता गरेका हुन्। विजयकुमार गच्छदारको प्रस्ताव र मानबहादुर विश्वकर्माको समर्थनमा देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्।

सीतादेवी यादवको प्रस्तावक र सञ्जयकुमार गौतमको समर्थनमा नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरे। नेता सिंहले रामचन्द्र पौडेल गुटको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। संसदीय दलमा देउवा र पौडेल पक्षको प्रत्यक्षतर्फ बराबर संसद संख्या रहेपनि समानुपतिकतर्फबाट संसदीय दलमा देउवा पक्ष हाबी छ।

प्रतिनिधि सभाको २७५ सिटमध्ये कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सहित ६३ स्थान जितेको छ। यो अवस्था रहेतापनि नेपाली कांग्रेसवृतमा देउवा भन्दा प्रकाशमान सिंहको चर्चा व्यापक रहेको छ। प्रकाशमान सिंहलाई संसदीय दलको नेता चयन गर्नका लागि युवा पुस्ता जोशमा रहेका छन्।

पुराना पुस्ता भने देउवा पक्षमा रहेतापनि उनीहरुको चाहना पनि सिंहको नयाँ नेतृत्व रहेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसको हारलाई देउवाको असक्षम नेतृत्वलाई कारक मानिएको छ। पार्टी सभापति र संसदीय दलको नेता एकै व्यक्ति हुनु हुंदैन भन्ने लबिङ चलिरहेको बेलामा कुनै चलखेल नभएमा नेता सिंहको जित हुने विश्वास गरिएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन २० गते आइतवार ।