काठमाडौ। भारतीय विदेश मन्त्री सुषमा स्वराजले नेपाल र भारत वीचको संवन्धमा केही असमझदारी र कमी–कमजोरी देखिएपनि हाल त्यो हटिसकेको बताएकी छन्। भारतीय विदेश मन्त्रालयको नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा आइतवार विदेशमन्त्री स्वराजले उक्त कुराको खुलासा गरेकी हुन्।

Sushma Sworaj Indian Ministerभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले दुई वर्षमा कूटनीतिक क्षेत्रमा गरेको प्रगतिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरिन् ।

नेपालले संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो । पत्रकारहरूले विशेषगरी मोदी सरकारको नेपाल, बंगलादेशलगायत मुलुकसँग विश्वासको संकट बढेकोमा जिज्ञासा राखेपछि विदेशमन्त्री स्वराजले नेपालसँगको असमझदारी हटेको दाबी गरेकी हुन्।

नाकाबन्दी हटेपछि गत फागुनमा प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेका थिए भने त्यही महिना सार्क मन्त्रिपरिषद् बैठकमा पोखरामा भाग लिने क्रममा भारतीय विदेशमन्त्री स्वराजले नेपाली नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । गतसाता मात्रै सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आउँदा परराष्ट्रमन्त्री कमल थापाले स्वराजसँग भेटघाट गरेका थिए।
प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।