काठमाडौं। मातृभाषा पत्रकारिताको महत्व र यसको आवश्यकता विषयक राष्ट्रिय सम्मेलन संपन्न भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा मातृभाषा पत्रकारिताको महत्व र यसको आवश्यकता विषयक दोश्रो राष्ट्रिय सम्मेलन संपन्न भएको हो।

विभिन्न भाषाभाषी पत्रकारहरुको उपस्थिति र अगुवाईमा भएको राष्ट्रिय सम्मेलनमा दश बुँदे काठमाडौं घोषणपत्र समेत जारी भएको छ। सम्मेलनले सञ्चारगृहभित्र समाचारको विषयवस्तु समावेशी हुनुपर्ने, मातृभाषा पत्रकारितालाई प्रबद्र्धन गर्नुपर्ने, पत्रकारहरुको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्नुपर्ने लगायतको माग गरेको छ।

सम्मेलनमा वरिष्ठ पत्रकार सुरेश किरण मानन्धर र अजित तामाङले मातृभाषा पत्रकारिताको चुनौती र अवसर विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा मूलधारको पत्रकारितादेखि विभिन्न भाषामा गरिने पत्रकारिता पेशा पूर्ण व्यावसायिक नभएको, पेशागत कमीकमजोरी थुपै्र भएकोदेखि क्षमता विकासको आवश्यकता औंल्याएको छ।

आयोजक नेवाःपत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यको सभापतित्वमा भएको सम्मेलनको उदघाटन प्रमुख अतिथिको आसनवाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दीप प्रज्ज्वलन गरेर गरेकी थिइन्। नेवाःपत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाका सचिव रत्न महर्जन र केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले स्वागत गरेका थिए।

सम्मेलनमा आयोजक नेवाःपत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले विषय वस्तु प्रवेगराएका थिए। सचिव केके मानन्धरले कार्यक्रम सञ्चालन गरेको सम्मेलनमा विभिन्न भाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरुले आआफ्नो मातृभाषामा पत्रकारिता गर्दा देखिएको चुनौती र अवसरको विषयमा आआफ्नो मन्तव्य राखेका थिए।

सम्मेलनले जारी गरेको दश बुँदे काठमाडौं घोषणा पत्रमा निम्न कुराहरु उल्लेख छ–

१। आज भन्दा ९७ वर्ष पहिले विसं १९८२ साल (नेपाल संवत १०४५) बुद्ध जयन्तिका दिन शुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुँदैछ। यस ऐतिहासिक अवसरमा २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने यो सम्मेलन घोषणा गर्दछ ।

२। विगत ८ वर्षदेखि हरेक वर्ष बुद्ध जयन्तिको अघिल्लो दिन मनाउँदै आइरहेको “मातृभाषा पत्रकारिता दिवस” लाई शताब्दी वर्षदेखि राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गर्दछ ।

३। मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकासित गर्न सरकार समक्ष माग गर्दै त्यसका लागि पहल गर्ने घोषणा गर्दछ ।

४। वि।सं १९८२ सालमा पहिलो पटक नेपालभाषामा बुद्धधर्म पत्रिका प्रकाशन गरी मातृभाषाको पत्रकारिता मार्फत भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पुर्‍याएका इतिहास पुरुष धर्मादित्य धर्माचार्य ९जगतमान वैद्य० लाई मातृभाषाको पत्रकारिताको प्रेरक व्यक्तिका रुपमा हरेक वर्ष धर्मादित्य धर्माचार्य जन्मजयन्ती मनाउने परम्परा अब सम्पूर्ण मातृभाषी पत्रकार संघसंंस्थाले राष्ट्रिय उत्सवका रुपमा मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
५। मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरुको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न यो सम्मेलन माग गर्दछ ।

६। मातृभाषामा प्रकाशित–प्रसारित हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट लोक कल्याणकारी विज्ञापनको विशेष व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।

७। नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न पत्रकारिता पुरस्कारको सवालमा विशेष मापदण्ड बनाई मातृभाषामा पत्रकारिता गर्ने समुदायका पत्रकारलाई अनिवार्य समेट्न यो सम्मेलन सरकारसँग आग्रह गर्दछ ।

८। सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ ।

९। भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अबिलम्ब आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन सरकार समक्ष माग गर्दछ ।

१०। नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विभिन्न तथ्यहरुबाट पुष्टि भइसकेको सन्दर्भमा श्री श्रेष्ठलाई अबिलम्ब महासंघको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणहरुको सम्मान गर्न पत्रकार महासंघ, नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला समक्ष यो सम्मेलन जोडदार माग गर्दछ ।
नेसं. ११४२ दिल्लाथ्व षष्ठी (२१ असार, २०७९) मंगलबार ।

प्रकाशन मिति–२०७९ साल असार २१ गते मंगलवार ।