ललितपुर । भाषा, संस्कृति र सम्पदा संरक्षणमा अग्रणी संस्था ताम्राकार समाजले नेवाःपत्रकार राष्ट्रिय दबूका निर्वाचित केन्द्रिय पदाधिकारीहरुलाई सम्मान गरेको छ। शुक्रवार आयोजित विशेष समारोह वीच ताम्राकार समाजले नेवाःपत्रकार राष्ट्रिय दबूले गरेको योगदानको कदर स्वरुप निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो।

कार्यक्रममा आयोजक ताम्राकार समाजका अध्यक्ष विनोद ताम्रकारले नेपाल भाषा, संस्कृति, सम्पदा र मौलिक परम्पराको जर्गेना गर्ने लगायत राज्यको गलत नीति सरोकारवालालाई बेवास्ता गरी गरिएका निर्णय का कारण सिर्जित समस्यासंग जुध्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको र त्यसमा नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदान रहेको बताए।

सडक विस्तारको क्रममा ताम्राकारहरुको कुलदेवता उग्रचण्डीमाई मन्दिर क्षेत्र अतिक्रमण हुन नदिन समाजले गरेको विरोध, भूकम्पछि मन्दिर पुनःनिर्माण, ग्यास पड्किएर समाजका सदस्यहरुको मृत्यू हुुँदा क्षतिपूर्ण लिन कामदेखि समाजले गर्ने हरेक गतिविधिमा सञ्चारमाध्यमको सहयोगी भूमिकालाई अध्यक्ष ताम्राकारले दिल खोलेर प्रशंशा गरे ।

समाजका निर्वतमान अध्यक्ष रवीन्द्रराज ताम्रकारले समाजले आफ्नोे उद्देश्य प्राप्तिको दिशामा सञ्चारमाध्यमले पुरयाएको योगदाको प्रशंसा गर्दै समाजले फराकिलो दृष्टिकोण राखेर सबैंसंग सहकार्य गर्दै आएको खुलासा गरे।समाजले ताम्रकारहरुको मात्र नभई सिंगो नेवार समुदाय र राष्ट्रको हितको भावनाले काम गरिरहेको बताउँदै निर्वतमान अध्यक्ष ताम्रकारले राज्य, स्थानीय तहको गलत नीति, समन्वय बिना काम गर्दा भोग्नुपरिरहेको समस्या समाधानका लागि सञ्चारमाध्यमको महत्व कति रहन्छ भन्ने कुराको आफू भुक्तभोगी रहेको समेत स्पष्ट पार्न चुकेनन्।

नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सञ्चारमाध्यमसंग सहकार्य गरी अघि बढ्ने विषयमा अरु जातीय समाजले ताम्राकार समाजबाट सिक्नुपर्नेमा जोड दिएका थिए। नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले राज्यको विभिन्न ओहोदामा रहेका, धनीमानीको स्वार्थ र समुदायको हित बाझिएको अवस्थामा सञ्चारकर्मीहरुले विवेक पु¥याएर पत्रकारिताको धर्म अनुसार सदवै समुदायको हितलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्नुपर्नेमा जोड दिए।

ताम्राकार समाजको समन्वयकारी छवि, फराकिला चिन्तन र व्यवहार अरु जातीय समाज खलःपुचका लागि उदाहरणीय रहेको पनि वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई रहेको छ। समाजका अध्यक्ष शम्भुगोविन्द्र ताम्राकार, सचिव दिपेश ताम्रकारले विविध भाषाभाषी र समुदायको रहेको देशमा सञ्चारमाध्यमले सबैका आवाज र भावनालाई प्रतिबिम्बित गर्दै जानुपर्नेमा केन्द्रीत गर्दै आआफ्नो भनाई राखेका थिए।
प्रकाशन मिति–२०७९ साल फागुन २८ गते आइतवार ।