काठमाडौ। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतबाट दोषी ठहर गरिएका माओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेललाई मंगलबार डिल्लीबजार कारागार चलान गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले ढुंगेललाई मंगलबारै ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो।

पक्राउ परेका ढुंगेललाई अदालती प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार चलान गरिएको हो। अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्नेछ। पक्राउ गरेपछि ढुंगेललाई अदालती प्रक्रिया पूरा गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ८ वर्षअघि सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता ढुंगेललाई फरार भन्दै प्रहरीले पक्रेको थिएन। ढुंगेललाई पक्रन पटक–पटक अदालतले दिएको आदेश कार्यान्वयन नगरी अदालतको मानहानि गरेको भन्दै कानुन व्यवसायी दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षकविरुद्ध नै अवहेलनाको मुद्दा हालेपछि भने प्रहरीले अन्ततः ढुंगेललाई पक्रेको हो।
प्रकाशन मिति–२०७४ साल कात्तिक १४ गते मंंगलवार