काठमाडौं। भगवान पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनहरुको सुविधा र सुरक्षाको लागि पशुपतिनाथ मन्दिरमा लकर तथा सफा टेम्पो सेवा प्रारम्भ गरेको छ। आइतवारवाट लकर तथा सफा टेम्पो सेवा शुरु गरेको हो।

पशुपतिनाथको दर्शनमा आउने भक्तजनहरुको बहुमूल्य गर–गहना हराउने तथा लुटिने समस्या भएको र मोवाइल, झोला तथा क्यामेरा पशुपतिनाथ मन्दिरमा लान नमिल्ने भएकोले लकर सेवा शुरु गरेको पशुपति विकास कोषले भनेको छ।

माछापुच्छ्रे बैंकको सौजन्यवाट ५ सय १० वटा लकर कोषलाई प्राप्त भएपछि कोषले निःशुल्क लकर सेवा शुरु गरेको हो। माछापुच्छ्रे बैंकका  अध्यक्ष रोशन केसीले पशुपति विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललाई लकरको साँचो आइतवार हस्तान्तरण गरेपछि लकर सेवा शुरु भएको हो।

लकर सेवा भुवनेश्वरी मन्दिर अघिको बरुणधारामा राखिएको छ। जुत्ता चप्पल राख्ने स्थल पनि यहीँ बनाइने कोषले जनाएको छ। पशुपतिको मूल मन्दिर क्षेत्रमा सवारीसाधन निषेध गरेपछि अशक्त, वृद्धवृद्धालाई दर्शन गर्न जान समस्या भएकाले आज आइतवार देखि दुईवटा विद्युतीय टेम्पो पनि सञ्चालनमा ल्याइएको छ।

लक्ष्मी बैंकसँगको सहकार्यमा यो सेवा शुरु गरिएको कोषले जनाएको छ। अशक्त, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धाले निःशुल्क विद्युतीय टेम्पोको सेवा लिन सक्नेछन् । सफा टेम्पो सेवा चार शिवालयबाट दक्षिणढोकासम्म सञ्चालन भएको छ। । सफा टेम्पो लक्ष्मी बैंकका पूर्व अध्यक्ष राजेन्द्र खेतान र प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले संयुक्त रुपमा कोषलाई हस्तान्तरण गरेका थिए।

प्रकाशन मिति–२०७५ साल असोज १४ गते आइतवार ।