–श्याम स्मृत
काठमाडौ। नेपालमा पहिलोपल्ट पशुपति आर्यघाटमा संचालनमा ल्याइएको विद्युतीय शवदाहगृह प्रति क्रमिक रुपमा आकर्षण बढ्न थालेको छ। मिति २०७२ साल माघ १० गतेवाट विधिवत रुपमा संचालनमा ल्याइएको विश्वको अत्यन्त लोकप्रिय विद्युतीय शवदाहगृहमा महिना दिन नपुग्दै फागुन २ गते आइतवारसम्म ३ सय ३० शवको दाहसंस्कार गरिसकेको जानकारी पशुपति क्षेत्र विकास कोषका विद्युतीय शवदाहगृहमा कार्यरत कर्मचारी ध्रुवतारा मुडवरीले भिजन संसारसंगको कुराकानीमा बताएका छन्।

Bidhut Sabdah Griha

कर्मचारी मुडवरीका अनुसार हाललाई प्रति शवदाहको लागि नगद ३ हजार शुल्क लिइने गरेको छ। उक्त शुल्क तिर्न नसक्नेहरुलाई निःशुल्क समेत शवदाह गर्ने गरेको मुडवरी बताउंछन्। आइतवारसम्म ९० वटाजति शवको निःशुल्क शवदाह गर्ने कार्य गरिसकेको शवदाहगृहको रेकर्डमा रहेको छ। चौविसौ घण्टा चालु अवस्थामा रहने गरेको पशुपति आर्यघाटको उक्त विद्युतीय शवदाहगृहमा कथंकदाचित विद्युत आपूर्तिमा गडबढी हुन गएमा तत्काल अटोमेटिकली जेनेरेटर अन हुने भएकोले हालसम्म त्यस्तो कुनै समस्या नभएको मुडवरीको भनाई रहेको छ।

प्रारम्भमा दुईवटा विद्युतीय शवदाहगृह संचालनमा ल्याइएतापनि हाललाई एउटा मात्र संचालन गरिएको छ। एउटा मात्र विद्युतीय शवदाहगृह संचालनमा आउंदा शवदाह गर्न पालो पर्खनु पर्ने अवस्था हाल देखिएको छ। धेरै शव एकैसाथ आइपुगेमा पालै पालो गर्दा धेरै समय लाग्ने देखिएतापनि शवदाहगृह भित्र लगिनासाथ एउटा शवदाह गर्न बढीमा डेढ घण्टा नत्र ४५ मिनेटमा नै संपन्न हुने देखिएको छ। मोटोघाटो तथा विदेश लगायत विभिन्न अस्पतालमा लामो समय आइसमा राखेर ल्याइएका शवको भने विद्युतीय शवदाह गर्दा डेढघण्टा लाग्ने गरेको छ। अन्य सामान्य शवको भने ४५ मिनेटमा नै संपन्न हुने गरेको मुडवरी भन्छन्।

मुटुमा पेसमेकर राखिएका शवको दाह गर्दा पेसमेकर निकाल्न अस्पताल फर्काउने तथा निकालेर मात्र ल्याउन सूचना दिइने गरेको छ। पेसमेकर ननिकालिकन शवदाह गर्दा पडकिने संभावना भएकोले शवदाहगृहलाई त्यसले व्यापक असर पर्ने बताइएको छ। हालसम्म पेसमेकर जडित दुईवटा शवलाई फिर्ता गर्नुपरेको भनिएको छ। ती शवलाई आर्यघाटमा नै परम्परागत रुपमा जलाएर दाह संस्कार गरिएको थियो।

त्यसरी दाह संस्कार गर्ने क्रममा पेसमेकर पडकिने गरेको पनि मुडवरीले बताएका छन्। प्रारम्भमा परम्परागत रुपमा दाहसंस्कार गर्न खोज्नेहरु पनि विद्युतीय शवदाहगृहको अवलोकन गरेपछि विद्युतीय शवदाहगृहमा नै शवदाह गर्न आउनेहरुको क्रमिक भीड देखिन थालेको पशुपति विकास कोषले जनाएको छ।

कोषको मातहतमा रहेको विद्युतीय शवदाहगृहको आकर्षणसंगै यिनको नियमित हेरविचार तथा अनुगमन र स्याहार–सुसारको आवश्यकता देखिएको छ। यसतर्फ कोष तथा नेपाल सरकार सजक रहनुपर्ने आवश्यकतामाथि पनि मलामीहरुले जोड दिएका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन ३ गते सोमवार ।