काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर ह्याउंनिभाः पुचःले विभिन्न राजनीतिक दलहरुसंग चुनावी अन्तरक्रिया कार्यक्रम गरेको छ। ह्याउनिभाः पुचःका जुझारु सक्रिय योद्धाहरु अनुपसिंह सुवाल, राकेश मास्के तथा मनरत्न शाक्यको संयोजनमा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रमको संचालन बाम राजनीतिका बुद्धिजीवि मल्ल के सुन्दरवाट भएको थियो।

नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रलाई निम्ता गरिएतापनि ती पार्टीले अति व्यस्तता देखाएर कुनैपनि प्रतिनिधि नपठाएको कार्यक्रम संयोजक अनुपसिंह सुवालले भिजन संसारलाई बताएका छन्। कार्यक्रममा नेपाःराष्ट्रिय पार्टी, नयाँशक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल र विवेकशील साझा पार्टीको विशेष सहभागिता रहेको थियो। कार्यक्रम अत्यन्त भद्र तथा शालिन तौरवाट संचालन भएको थियो।

विशेषत निर्वाचनमा प्रदेश तथा पहिचानको विषयमा नै गंभीर छलफल भएको थियो। त्यसमाथि पनि ११ जिल्ला रहेको ३ नंबर प्रदेशको विषयमा कुरा उठ्ठान भयो। ३ नंबर प्रदेशमा नेवार तथा तामाङहरुको बाहुल्यता भएकोले यस प्रदेशलाई नेवाःप्रदेश या नेवाःताम्सालिङ प्रदेश अथवा नेपाल मण्डल प्रदेश राख्नुपर्ने अवधारणा प्रतिपादन भयो।

जुन अवधारणालाई नेपाःराष्ट्रिय पार्टीका अध्यक्ष तथा काठमाडौ क्षेत्र नंबर ७ प्रदेशसभा (१) का प्रंत्यक्ष उम्मेदवार डा.विजय सैंजुले बुद्धांगत रुपमा यस अवधारणा राखेर आदिवासी जनजाति समुदायमा पहिचान स्थापित गर्नको लागि आफ्नो पार्टी क्रियाशील रहेको जिकिर गरेका छन्। डा.सैंजुले नेवाः या नेवाःताम्सालिङ प्रदेश राख्नुपर्ने नभएमा नेपाल मण्डल प्रदेश नामांकरण गरिनु अत्यन्त आवश्यक रहेको बताए।

जुन अवधारणा तथा प्रदेश नामांकरणका विषयमा संघीय समाजवादी फोरम नेपाल सकारात्मक रहेको र यस विषयमा आफ्नो पार्टी पहिलादेखि नै पहिचानको मुद्दामा संघर्षरत रहेको पार्टीको केन्द्रीय सदस्य डा.पुष्पराज राजकर्णिकारले बताएका छन्। प्रदेश स्थानीय बासिन्दाको पहिचान र भूमि अधिकारका विषयमा स्थानीय बासिन्दाको संख्यामा निर्धारण गरिनुपर्ने कुरामा पनि डा.राजकर्णिकारले जोड दिएका छन्।

नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता प्रशान्त सिंहले पनि आफ्नो पार्टी पहिचान तथा भूमि अधिकारको विषयमा स्थानीय बासिन्दाको अधिकार रहेको विषयमा अत्यन्त सकारात्मक रहेको बताएका छन्। विवेकशील साझा पाटीका प्रवक्ता रमेश पौडेलले भने पहिचानको विषयमा आफ्नो पार्टीले आधिकारिक धारणा राख्न नसकेको र छलफलकै विषय बनिरहेको खुलासा गरेका छन्।

पहिचान र प्रदेशको नामांकरणका विषयमा नेपाःराष्ट्रिय पार्टी, संघीय समाजवादी फोरम नेपाल तथा नयाँ शक्ति पार्टी स्पष्ट भएतापनि विवेकशील साझा पार्टी भने अस्पष्ट बनेको छ।


प्रकाशन मिति–२०७४ साल मंसीर १५ गते शुक्रबार ।