बनेपा। खानेपानी आउने घरको धारामा लेदो मिसिएको फोहोर पानी आउने कुरा काठमाडौमा सामान्य जस्तो नै हुन थालेको छ। तर, बनेपामा त्यस्तो मात्र नभइकन खानेपानीको धारावाट रगत मिसिएको पानी नै आउन थालेपछि बनेपाबासी हैरान बन्न थालेका छन्।

पहिलो दिन त्यसरी रगत मिसिएको पानी आएपछि बनेपाका स्थानीय जनता तर्सेका थिए। पछि यो रगत मिसिएको पानी बारम्बार आउन थालेपछि उनीहरु अचम्म मात्र होइन, त्यसको निराकरणको लागि बनेपा नगरपालिकामा उजुरी दिन पुगेका छन्।

बनेपाको दक्षटोलका स्थानीय बासिन्दाका घरका धारामा लगातार रगत मिसिएको पानी आएको उनीहरुको गुनासो रहेको छ। हप्तामा दुई दिन मात्र पानी आउने दक्षुटोलका स्थानीय बासिन्दाको घरको धारावाट रगत मिसिएको पानी आउन थालेको हो। खानेपानी आउने धारामा रगत आएपछि बनेपा दक्षुटोलमा स्थानीयहरु डराएका छन्।

बनेपाको ८ र ९ वडाको सिमाना दक्षुटोलका स्थानीय नागरिक खानेपानीमा रगत मिसिएको पानीसहित नगरपालिकामा डेलिगेसन गएका छन्। त्यसप्रकारको घटनावाट बनेपा नगरपालिकाका पदाधिकारी तथा मेयर समेत चकित बनेका छन्।

स्थानीयका अनुसार व्यवस्थित बधशाला नहुँदा शाही टोलबाट आएको ढल र खानेपानीको पाइप एकै ठाउँबाट राखिएकोले रगत आएको अनुमान रहेको छ। खानेपानीको धारामा नै रगत आएपछि बनेपा वडा नम्बर ९ का वडाअध्यक्ष शेरबहादुर सुवालको नेतृत्वमा बनेपा नगरपालिकामा उजुरी गर्न पुगेका थिए।

धेरै दिनदेखि रगत आएको र जानकारी गराउँदा पनि नगरपालिकाले चासो नदिएको स्थानीयले आरोप लगाएका छन्। बनेपामा रहेको खानेपानी संस्थानले वितरण गर्ने खानेपानी र बनेपा नगरपालिकाले बनाएको ढल एउटै भएको कारण घर–घरमा वितरण भएको खानेपानीमा समय–समयमा रगत आएर जनताको स्वास्थ्यमा गम्भीर असर पारेको आरोप उनीहरुको छ।

बनेपा नगरपालिकाको हलमा सेवाग्राहीले धारामा रगतजस्तै पानी आएको स–प्रमाण देखाएपछि बनेपा नगरका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठ अलमलमा परेका थिए। मेयरले समस्या तत्कालैसमाधान हुने बताए पनि स्थानीयले विश्वास भने गरेका छैनन्। जसवाट ३ सय परिवार पीडित रहेको बताइएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ८ गते मंगलवार ।