काठमाडौं। एकाएक बागमती प्रदेश लगायतका स्थानमा पेट्रोल ढुवानी ठप्प हुने चेतावनी आएपछि कोरोनाको कहरमा सवैमा त्रास फैलिएको थियो। अव भने, त्यस त्रासको अन्त्य भएको छ। पेट्रोल ढुवानी ठप्प गर्ने घोषणा सहित आन्दोलन गर्ने निर्णय गरेका ट्यांकर चालकहरुले आन्दोलन फिर्ता गरेपछि पेट्रोल नपाइने हो कि भन्ने डरको अन्त्य भएको हो।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने सहमति भएपछि इन्धन ढुवानीमा संलग्न ट्यांकर चालकले आन्दोलन फिर्ता लिएपछि सहज वातावरण तयार भएको जनाइएको छ। सरकारले बुधबारदेखि नै चालकलाई खोप दिने भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन्। मंगलबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा बुधबारदेखि नै खोप लगाउन सुरु गर्ने सहमति भएको संघले जनाएको छ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार, बागमती प्रदेश कार्यालय, धानकोट र २ नम्बर प्रदेशिक कार्यालय अमलेखगञ्जमा खोपका कारण रोकिएका सवारी सञ्चालन गर्नेगरी सहमति भएको छ । बागमती प्रदेश कार्यालयको काठमाडौं र अमलेखगजमा रहेका चालकलाई उतै खोप लगाउनेगरी व्यवस्था गर्नेगरी सहमति भएको छ।

प्रकाशन मिति–२०७८ साल असार १ गते मंगलवार ।