Kamal Thapaकाठमाडौ। पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राप्रपाले सरकार छोड्ने निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यालय काठमाडौको धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई सय ४९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा महाअघियोगको प्रस्ताव दर्ता गरे लगत्तै राप्रपाले सरकारबार बाहिरिने निर्णय गरेको हो।

प्रधानन्यायधिश सुशीला कार्की बिरुद्ध संसदमा दर्ता गराईको महाअभियोग प्रस्तावको बिरोध स्वरुप सरकारबाट अलग हुने निर्णय गरिएको जानकारी गराउँदै बैठकपछि राप्रपा अध्यक्ष कमल थापाले पत्रकार सम्मेलन गरी संसदमा दर्ता भएको संविधान संशोधन बिधेयकको पक्षमा दृढतापूर्वक खडा हुने भने बताएका छन्।

शक्तिपृथकीकरण माथि गम्भीर आघात पुग्ने र न्यायिक स्वतन्त्रता माथि हस्तक्षेप हुने गरी महाअभियोग प्रस्ताव गर्ने नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको निर्णयलाई अध्यक्ष थापाले अपरिपक्व र हतास मनस्थितिको संज्ञा दिएका छन्। महाअभियोग प्रस्तावलाई अनुपयुक्त र औचित्यहीन रहेको भन्दै अध्यक्ष थापाले यसले निर्वाचनको वातावरण विगार्ने र बिधिको शासनमा नकारात्मक असर पर्ने जिकिर गरेका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख १८ गते सोमवार ।