Sarbochha Adalatकाठमाडौ। नेपालका पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन्।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले सोमवार संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक मूल्यमान्यताको जगेर्ना तथा स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत विकासका लागि महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन आह्वान गरिएको छ।

संविधान प्रतिकूल कामकारबाही गरेको भनी अभियोग लगाउनुपर्ने उचित र पर्याप्त कारण देखिएको अवस्थामा पनि अत्यन्त सावधानीपूर्वक विशेष संवेदनशील भएर प्रक्रिया अपनाएको अनुभूति नभएको उल्लेख गर्दै विज्ञप्तिमा कानुनी राज्य र प्रजातन्त्रको संरक्षणका लागि नेपाली जनताको बृहत्तर हितलाई सर्वोपरि महत्व दिई राज्यका अङ्गबीच अनावश्यक प्रतिस्पर्धात्मक सोच नभएर सहकारिताको भावना उद्बोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जनताको हकअधिकार संरक्षण गर्ने कार्यमा न्यायपालिका निरीह बन्यो भने प्रजातन्त्र कमजोर हुन्छ, राजनीतिक तहमा देखिएका यस प्रकारका क्रियाकलापबाट स्वतन्त्र, निष्पक्ष र स्वच्छ तवरले न्याय सम्पान गर्ने वातावरण बिथोलिने कुरा निश्चित नै छ ।”

निहित राजनीतिक स्वार्थ पूरा गर्ने अभिप्रायले प्रस्ताव ल्याइएको महसुस भएको तथा अस्पष्ट र निराधार आरोपका आधारमा प्रक्रिया अगाडि बढाउँदा न्यायपालिकाप्रतिको जनआस्था खल्बलिने, कानुनी राज्य धराशायी हुने र प्रजातन्त्र नै विशृङ्खलित हुने स्थिति आउने कुरा पनि विज्ञप्तिमा औँल्याइएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख १८ गते सोमवार ।