काठमाडौं। कोरोना महामारीको दोश्रो चरण पुग्दा नेपालमा फेरि लकडाउन हुने पो हो कि भन्ने व्यापक हल्ला चलिरहेको वर्तमान अवस्थामा लकडाउन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले  वताएका छन्।

बुधबार नयाँ बर्ष २०७८ सालको अवसरमा देशबासीको नाममा सम्बोधन गदै प्रधानमन्त्री ओलीले कोरोना रोकथामका अन्य उपाय अपनाउने बताउदै लकडाउन नहुने बताएका हुन्। चारैतिर लकडाउन हुने हल्ला भएपनि अहिले नेपालमा लकडाउन गर्ने अवस्था नरहेको पनि प्रधानमन्त्री ओलीको भनाई रहेको छ। प्रधानमन्त्री ओलीले बार्षिक समीक्षा समेत गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ र राजनीतिक पृष्ठभूमि उथुलपुथुल अवस्था सिर्जना भएपनि वितेको २०७७ सालमा आशलाग्दा थुप्रै कामहरू भएको दाबी गरेका छन्।

२०७७ मा प्रतिकुलताका बीच असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष बनेको प्रधानमन्त्रीले दाबी गरे। दशकौंपछि मेलम्चीको पानी काठमाडौं आएको, अतिक्रमित भूमि फिर्ता, पुनःनिर्माणका कामहरूले पूर्णता पाउने क्रम बढेको ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले आफ्नो भू–भागसमेत सामेल गरेर नयाँ नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरवसँगै सबैमा आत्मविश्वास बढाएको दाबी गरेका छन्। सरकारले सातै प्रदेशमा ठूला नयाँ औद्योगिक क्षेत्रको सिलान्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकुल वातावरण बनेको  उल्लेख गरे। सरकारले गरेका कामहरू नदेख्ने समूहले निरन्तर जनता भड्काउने प्रयास भइरहे पनि सरकारका क्रियाकलापप्रति जनताले आशा र भरोसा गरेको ओलीको भनाइ थियो।

प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्ने गरेको, १२ वटा आवासगृह निर्माण भइरहेको, पूर्वदेखि पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, राजमार्गको स्तरोन्नति र निर्माणको काम भइरहेको फेहरिस्त प्रधानमन्त्री ओलीले प्रस्तुत गरे। महिनाको १ सय बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता दिनको १ सयमा पुगेको उल्लेख गर्दै ओलीले आगामी आर्थिक वर्षदेखि वृद्धि गर्ने जानकारी दिएका छन्।

२०७६ सालमा पृथकथावादी सोचसहित अघि बढेको समूहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको भन्दै प्रधानमन्त्री ओलीले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको जिकिर गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको एमसीसी प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्।

सरकारले सामाजिक जीवनको कुनै पनि क्षेत्रलाई नबिर्सेको उल्लेख गर्दै सबैको समस्या समाधानका लागि सरकार सजग रहेको पनि ओलीले जिकिर गरे।
प्रकाशन मिति–२०७८ साल बैशाख १ गते बुधवार ।