काठमाडौ। प्रधानमन्त्रीको कार्यभार सम्हालिदै गरेको अवस्थामा गर्भवती हुनु अवश्य पनि नौलो कुरा हो। अक्सर यस्तो घटना कमै हुने गरेको छ। पाकिस्तानमा बेनजीर भुट्टो प्रधानमन्त्री भएकै बेला गर्भवती बनेर छोरी जन्माएको घटनापछि यसप्रकारको घटना प्रकाशमा आएको थिएन।

M\s Jacinda Ardern-Prime Minister of New Zealand

३० बर्षअघि पाकिस्तानी प्रधानमन्त्री बेनजीर भुट्टो प्रधानमन्त्री भएकै बेला गर्भवती बनेर छोरी जन्माएको घटनाको ३० बर्षपछि भने न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्दर्न गर्भवती भएको खुलासा भएको छ। जकिन्डाले शुक्रबार आफू गर्भवती भएको घोषणा गरेपछि उक्त कुराको खुलासा भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आगामी जुन महिनामा पहिलो शिशुलाई जन्म दिनेछिन। गर्भवती भएपछि ३७ वर्षीया जकिन्डाले ६ हप्ता विदा लिएर घरमै पति क्लार्क गैयफोर्डसँग बस्ने योजना बनाएकी छन्।

उनले विहीबार मात्रै उपप्रधानमन्त्री विन्स्टन पीटर्सलाई आफू गर्भवती भएको जानकारी गराउँदै आफू ६ हप्ता विदामा बस्ने र सो अवधिमा कार्यबाहकको जिम्मेवारी लिन आग्रह गरेकी छन्। जकिन्डा सन् १८५६ यता न्युजिल्याण्डमा सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल माघ ६ गते शनिवार ।