Nawraj Silwalकाठमाडौ। नेपाल प्रहरीको इतिहासमा गजबको घटना घटेको छ। नेपाल प्रहरीले नेपाल प्रहरीकै नायब महानिरीक्षक नवराज सिलवाललाई नियन्त्रणमा लिएको छ। बाहिर सिलवाललाई पक्राउ गरिएको भनिएतापनि नेपालप्रहरीले आफ्नो नायब महानिरीक्षकको बचाउ गर्दै सोमवारसोधपुछका लागि नियन्त्रणमा लिएको भनेको छ।

प्रहरी महानिरीक्षकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दामा कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको र प्रहरी महानिरीक्षकले बोलाएको बैठक बहिष्कार गरेको सम्बन्धमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले सिलवाललाई सोधपुछका लागि बोलाएकोमा सिलवालले आफ्नो वकिल पनि साथै लिएर आउंछु भनेपछि दुवैजनालाई लिएर आएको बताएका छन्।

सिलवाल आफ्ना वकिल शंभु थापासँग थापाकै निवासमा परामर्श गरिरहेको अवस्थामा थापा निवासवाटै सिलवाललाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले भनेको छ। सिलवालसँगै थापा पनि प्रहरी प्रधान कार्यालय पुगेका हुन्।

यसैवीच सर्वोच्च अदालतले नियन्त्रणमा लिइएका भनिएका नायब प्रहरी महानिरीक्ष सिलवाललाई तत्काल थुनामुक्त गरेर अदालतमा हाजिर गराउन आदेश दिएको छ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज सिलवालले गैरकानुनी रुपमा आफूलाई थुनामा राखेको भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि सो आदेश गरेको हो।

सर्वोच्च अदालतको आदेशको लगतै नेपाल प्रहरीले सिलवाललाई बयान लिएर छाडेको छ। तर, सर्वोच्च अदालतमा भने उपस्थित गराइएन।
प्रकाशन मिति–२०७४ साल बैशाख ११ गते सोमवार ।