Prem Geet

काठमाडौ । नेपाली चलचित्र प्रेम गीतको निर्माण पक्षले गायनको क्षेत्रमा नयाँ कलाकारको खोजी प्रारम्भ गरेको छ । चलचित्र निर्माण पक्षले पत्रकार सम्मेलन मार्फत चलचित्रको शीर्ष गीत मार्फत देशभरबाट गायक गायिकाहरुलाई गायनमा स्थान दिने जानकारी दिएको हो। आसुसेन फिल्म प्रोडक्सनले निर्माण गरेको प्रेमगीतको चर्चामा रहेको शिर्ष गीत म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस् बोलको गीत मार्फत प्रतियोगिता गराउने निर्णय गरिएको निर्माण पक्षले भनेको छ।

सुगम पोखरेल र अञ्जु पन्तको गायन रहेको उक्त गीतमा देशभर रहेका सवै क्षमतावान प्रतिभाले भाग लिन सकिने भनिएको छ। युट्युब कभर सङ् कम्पिडिसन नाम दिइएको प्रतियोगिताका लागि गीतको ट्रयाक समेत युट्युबमा अपलोड गरिने बताइएको छ।
२७ नोभेम्बरदेखि २६ डिसेम्बरसम्म सहभागीले भिडियो पठाउनु पर्नेछ भने १० डिसेम्बरदेखि १ जनवरीसम्म प्रतिस्पर्धामा आएका मध्येबाट उत्कृष्ट भिडियोहरु युट्युबबाट अपलोड गरिनेछ।

फ्रेबुअरी १० मा सहभागी मध्येबाट युट्युब भिअर्सका आधारमा उत्कृष्ट १० को घोषणा गरिने चलचित्रका निर्माता सन्तोष सेनले बताए। उत्कृष्ट १० मध्येबाट गीतका गायक–गायिका र संगीतकारले सर्वोकृष्ट प्रतिभाको छनोट गर्ने छन । साथै गायनमा अब्बल देखिएका प्रतिभालाई संगीतकार अर्जुन पोखरेलले आफ्ना संगीतमा गायनको अवसर दिनेछन । प्रतियोगीतामा विजेता हुनेलाई १ लाख नगद पुरस्कार प्रदान गरिने पनि निर्माण पक्षले भनेको छ।

उत्कृष्ट १० मा पर्न सफल सहभागीलाई १–१ सेट मोबाइल प्रदान गरिनुका साथै उत्कृष्ट २० मा पर्न सफल सहभागीलाई बिदेश पढ्न जान चाहनेलाई उचित छुटमा अध्ययनको व्यवस्था गरिने निर्माता सेनले जानकारी दिए। शिर्ष गीत गाउने गायक सुगम पोखरेल र गायिका अञ्जु पन्त तथा संगीतकार अर्जुन पोखरेलले विजेताको नाम घोषणा गर्ने छन् । निर्माण पक्षले चलचित्र प्रेम गीतको शिर्ष गीतको भिडियो सार्वजनिक गरेसँगै युट्युब कभर सङ् कम्पिडिसनका लागी आवेदन खुल्ला गरिएको हो।

हालसम्म कै उत्कृष्ट प्रविधिको प्रयोग गरी निर्माण गरिएको यो चलचित्रल दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । आगामी माघ २९ गतेबाट प्रदर्शनमा आउने उक्त चलचित्रमा पूजा शर्मा र प्रदीप खड्कासँगै सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, राजाराम पौडेल लगायतका कलाकाहरुको अभिनय रहेको छ। । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। ।

प्रकाशन मिति–२०७२ साल मंसिर १९ गते शनिवार ।