काठमाडौ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघेको छ। टेम्बिन नाम दिइएको आँधीमा परेर कयौं व्यक्ति हराइरहेका छन् मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा पहिरो गएको छ। आँधीबाट बढी प्रभावित टुवोद र पिआगापो शहरका धेरै घर पहिरोले पुरिएका छन्। आँधीसँगै नदीहरुमा बाढी आएका कारण कतिपय गाउँ ध्वस्त भएका छन्।

विद्युत् सेवा र सञ्चार सेवा अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । ८० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधी दक्षिणी पालावन क्षेत्रतर्फ बढिरहेको छ। सरकारले आँधी प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ।

मध्य फिलिपिन्समा गत हप्ता मात्र ‘काइ टाक’ नाम दिइएको आँधीका कारण धेरै जनाको मृत्यु भएको थियो। यो क्षेत्रमा सन् २०१३ मा आएको आँधीका कारण ५ हजारभन्दा बढीको मृत्यु भएको थियो

 (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल पुष ९ गते आइतवार ।