काठमाडौ। फिलिपिन्समा शनिबारदेखि सुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मंगलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको संख्या ४१ पुगेको छ। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, मध्य फिलिपिन्सको बिलिरन प्रान्तमा गएको पहिरोबाट थप १० व्यक्तिको शव निकालिएको छ।

बिलिरन प्रान्तको पहिरो प्रभावित क्षेत्रमा अझै पनि २३ व्यक्ति हराइरहेका त्यहाँको सरकारका प्रवक्ताले भनेका छन्। ‘काइ–ताक’ नामक आँधी र त्यसलगत्तैको भीषण पहिरोका कारण कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीले सोमबार नै जानकारी दिएको थियो।

बिलिरन, लेएटे पूर्वीसमार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ । फिलिपिन्सका केही प्रान्तमा गत शनिबारबाट सुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो। शनिबारबाट सुरु भएको यस आँधीका कारण कैयौँ उडान र डुंगाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन्। मंगलबार पनि सबै उडान तथा समग्र यातायात सेवा नै प्रभावित भएको बताइएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल पुष ४ गते मंगलवार ।