काठमाडौ। बाटो छेकेर बलात्कारको प्रयास गर्ने र त्यसको आडमा अश्लिल भिडियो बनाएर रकम असुल्न खोज्ने गिरोह नेपालमा पनि सक्रिय बन्न थालेको छ। त्यो गिरोहका मध्येका दुई युवकलाई प्रहरीले झापामा गिरफ्तार गरेको छ। उनीहरुलाई नेपाल प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

झापाको अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय विजयबहादुर मगर र सोही स्थानका १७ वर्षीय नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय अनारमनीले गिरफ्तार गरेर सार्वजनिक गरेको हो।

मितआमालाई भेट्न इलामबाट आएकी ३५ वर्षीया एक महिलालाई उनीहरुले खुकुरी देखाएर जबरजस्ती गर्ने प्रयास गरेका थिए। घटनामा संलग्न अर्का एकजना फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। पीडितको पहिचान भने प्रहरीले गोप्य राखेको छ। पीडित महिलालाई बिहीबार मितआमाको भाइले मोटरसाइकलमा इलाम पुर्‍याउने क्रममा अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरीबन्धु चिया बगानमा ती युवकले खुकुरी देखाई मोटरसाइकल रोक्न लगाएको प्रहरीको भनाइ छ।

ती युवाले उनीहरुलाई कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार ती महिला र उनका मितआमाको छोरा ‘भाइ’लाई चुम्बन गर्न लगाएर उनीहरुले भिडियो खिचेका र त्यसैका आडमा पैसा असुल्ने प्रयास गरेका थिए। तीनजनाले पीडित महिलाको कपडा खोलेर जबरजस्तीसमेत गर्न खोजेका थिए।

उनीहरुले बनाएको अश्लील भिडियो आफूसँग रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए । भिडियो बनाइसकेपछि ती युवाले आफूहरुले भनेजति पैसा नदिए भिडियो फेसबुक तथा अन्य सामाजिक सन्जालमा अपलोड गरिदिने धम्कीसमेत दिएका थिए।

पीडितहरुले ‘हामीसँग यत्रो पैसा छैन, हामी १० हजारमात्र दिन सक्छौँ, बैंकबाट निकाल्नु पर्छ’ भन्दा पीडित महिलाको भाइको मोटरसाइकलको चाबी खोसी मोटरसाइकल र महिलालाई चियाबारी भित्र एकान्त स्थानमा लगेको र भाइलाई एकजनाको साथ लगाएर बैंकमा पैसा लिन पठाएको प्रहरीले जनाएको छ।

तर, बैंकतर्फ आउने क्रममा पीडितको भाइ साथ लागेर आएका युवकलाई छलेर इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेका थिए । उक्त स्थानमा प्रहरी पुग्दा ती महिला निर्वस्त्र अवस्था भेटिएको प्रहरीको भनाइ छ। घटनामा संलग्नमध्येका डाँगी र मगरलाई प्रहरीले तत्काल घटनास्थलबाट पक्राउ गरेको थियो।
प्रकाशन मिति–२०७४ साल पुष १५ गते शनिवार ।