–प्रकाश सायमी
ललितपुर । नेपालमा निजी क्षेत्रबाट फिल्म बन्नु भन्दा अगि शाही नेपाल चलचित्र संस्थानको सिँदूर फिल्म देखि नेपाली चलचित्रमा गाउन शुरु गरेका गायिका सुषमा श्रेष्ठ अर्थात् पूर्णीमाले जूनी, तिलहरी, सिमाना, अवतार, चेलीबेटी, चोखो माया, सन्तान, कन्यादानु आदि गरेर सयौँ नेपाली चलचित्रमा आफ्नो स्वर दिएकी छिन् भनें उनले ११ वर्षको उमेर देखि हिन्दी फिल्ममा गीत गाएर आधा शताब्दी लामो यात्रा तय गरिसकेकी छिन्।

नेपालका उच्चकोटिका गायका नारायणगोपालसँग पहिलो युगल गीत गाएका पूर्णीमाले बलिऊडका महान गायक मोहम्मद रफी, मुकेश, किशोर कुमारसित सफल युगल गीत गाएकी छिन् ।

आरडी बर्मनको संगीतमा बालिक बधूु को युगल गीत बडे अच्छे लगते हो ।।। उनको चर्चित गीत हो भने आरडी बर्मनकै संगीतमा क्या हुआ तेरा वादा ।।। उनको अत्यन्त स्मरणीय गीत हो ।

राजकपूर निर्देशित फिल्म धरमकरम मा उनले मुकेशसित इक दिन जब बिक जाए ु गाएकी थिइन् भनें मोहम्मद रफी र सुमन कल्याणपुरसित सन् १९६९ नोभेम्बर महिनाको आजकै दिन अन्दाज फिल्म को लागि शंकर जयकिशनको संगीतमा ुहै ना बोलो बोलोु गाएर बाल गायिकामा चर्चा मा आएकी थिइन् । ५२ वर्ष अगि रेकर्ड गरिएको यो गीत पूर्णीमाको पहिलो गीत थिएन तर निकै चर्चित भयो ।

पूर्णीमाको जन्म सन् १९५९ सेप्टेम्बर ६ का दिन भारतको मुम्बईस्थित दादरको डाक्टर पाटकर हस्पितलमा भएको थियो ।
बलिउडका प्रसिद्ध नेपाली संगीतकार, संगीत संयोजक एवम् वाद्यवादक भोला श्रेष्ठ र लीला श्रेष्ठकी कान्छी छोरीका रुपमा जन्मेकी पूर्णीमाले आफ्ना पिताको निधन भएपछि उस्ताद मनब्बर अली खाँ र उस्ताद ताज अहमद खानसित विधिवत शास्त्रीय संगीत सिकिन् ।

हिन्दी फिल्ममा बालगायिकाको रुपमा आएकी पूर्णीमालाई परिपक्व गायिका बनाउन एउटा गीतले सफल भूमिका निर्वाह गर्यो , त्यो गीत हो
इतनी शक्ति दे ना हमें दाता
मन का विश्वास कमजोर होना ।।

वरिष्ठ संगीतकार कुलदीप सिंहले संगीत गर्नु भएको यो गीत एन चन्द्रा निर्देशित अंकुश मा प्रयोग गरिएको थियो । कुलदीपसिंहलाई पूर्णीमा पापाजी भनेर सम्बोधन गर्छिन् ।
लगभग यही साल पूणीमाले आमा, दाजु र दिदीको विरोधका वावजूद फेनोग्राफरका रेकर्डिस्टका छोरा हरिश चन्द्रसित दुःखदायी विवाह गरिन् ।
यो विवाह नै तिनलाई अभिशाप भयो ।

उनले लोग्नेको घरमा अपमान, बेइज्जत र शोषण वाहेक केही पाइनन् । त्यस घरबाट आफ्ना पति नभएका वेला उनी अपमानित पूर्वक निकालिइन् । यसपछि उनी पुनः माइती कै छेवमा डेरा लिएर उही बेरोजगार पति सित बस्न थालिन् , कारण उनी गर्भवती भइसकेकी थिइन् ।

पूर्णीमाको पहिलो सन्तान छोराको रुपमा निषाद जन्मियो ।
सन् ९० को दशकमा पूर्णीमा बलिऊडमा सफल गायिका भइन् , चने की खेत में , तू तू तारा , शाम है धुआँ धुआँ , सरकाइलो खटिया जस्ता गीतबाट ख्यातनामा भइन् ।
अन्नू मल्लिकको संगीतमा माँ फिल्मको बरसात में जब आयेगा सावन का महिना ।।  खूब चर्चित भयो ।

यही समय उनले टिप्स कम्पनीका रमेश तुर्रानीसित मिलेर अल्बम निकालिइन् ।
नाम, दाम र ख्याति कमाउँदै गएकी पूर्णीमाले अर्को छोरा निर्मयलाई जन्म दिइन् । उनको एक्लो कमाइले बेरोजगार पति , दुई छोरा हुर्काउँदै अगि बढिन् ।

सन् २००१ मा उनको आमा लिला श्रेष्ठको मृत्यु भयो , आमाको मृत्युको समय उनी आफ्ना पतिका कारण आमाबाट टाढा थिइन् , पछि उनलाई थाह भयो आमाको मृत्युको कारण उनी र उनका पति नै थियो भनेर बुझेपछि उनी धेरै दुःखी भइन् ।
पूर्णीमाले आफ्ना जेठा छोरा निषादलाई उस्ताद जाकिर हुसैनका भाइ उस्ताद तौफिक कुरैशीसित संगीत सिक्न लगाए ।

निषाद संगीत सिक्दै अगि बढे र सफल पनि भए । पछि पूर्णीमाले निषादको भव्य रुपमा विवाह पनि गरिदिइन् । यस विवाह पश्चात् यो परिवारले नयाँ घर बनाउने पहल गर्यो , यसवेला पूर्णीमालाई थाह भयो उनका पतिले उनले कमाएको सारा सम्पत्ति अरु कसैसित मिलेर आफ्नो नाम गरिसकेका रहेछन् । नयाँ घर पनि श्रीमान र छोराले बुहारीको नाम गरिसकेको जब उनले चाल पाइन् उनमा विद्रोही भावना जाग्यो तर उनको केही लागेन ।।।

जेठो छोरा , बुहारी अनि अर्को छोराले पति सित मिलेर उनलाई घरबाट निकाली दिए । आज पूर्णीमा बम्बईमा आफ्ना एक नातेदारका घरमा शरणाथीका रुपमा छिन् ।
एउटी गायिकाका हैसियतले उनले कमाएको एक पैसाको खाता उनको नाममा छैन । पहिलो लकडाउनमा उनी घरबाट निकालिइन् ।

यसपालिको दोस्रो लकडाउनमा उनी कामको खोजीमा फेरि मैदानमा निस्केकी छिन् , पति र छोराहरुलाई मुद्दा हालेर बसेकी छिन् ।
प्रकाशन मिति–२०७८ साल कात्तिक २७ गते शनिवार ।