Birganj Hospital 1

काठमाडौ। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएका नवजात शिशु ४८ घण्टाभित्रै सकुशल फेला पार्न वीरगञ्ज प्रहरी सफल भएको छ। बच्चा चोर्ने महिला लालसादेवीलाई प्रहरीले उनको पर्सा जिल्लाको बेल्वा गाविस–९ स्थित माइतिघरवाट आइतवार पक्राउ गरिएको छ।

पक्राउमा परेकी लालसादेवीले आफूबाट जायजन्म नभएको र सन्तानको चाहना ज्यादै नै भएकाले यसरी बच्चा चोरेको प्रहरीलाई वयान दिएकी छिन्। प्रहरीले बच्चा आफन्तलाई जिम्मा लगाएको छ। अहिले बच्चालाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ। बच्चाको स्थिति सामान्य नै रहेको प्रहरीको भनाइ छ।

 

चोरिएको नवजात शिशुलाई आमा आशादेवी पासवानलाई डाक्टरको रोहवरमा प्रहरीव्दारा हस्तान्तरण
चोरिएको नवजात शिशुलाई आमा आशादेवी पासवानलाई डाक्टरको रोहवरमा प्रहरीव्दारा हस्तान्तरण

घटना यसरी घटेको थियो
पर्सा जिल्लाको बेल्वा गाविस वडा नं–९ निवासी बिन्देश्वर कानूका घरमा शुक्रबार दिउँसो हस्याङ–फस्याङ गर्दै २२ वर्षकी तरुनी छोरी लालसादेवी नवजात शिशुको साथमा पुगेकी थिइन्। पाँच वर्षअघि जिल्लाकै भिस्वामा बिहे गरेर पठाएकी छोरी यसरी बच्चो च्यापेर माइतीघर पुग्दा सबैले छोरी सुत्केरी भएको ठहर गरेर सोही बमोजिम सुत्केरीलाई गर्ने व्यवहार गरेका थिए।

छोरो जन्माएर सुत्केरी खान माइत आएकी लालसादेवीको स्याहार सुसारमा कानूको परिवार सक्रिय भयो। विवाह भएर गएको पाँच बर्षसम्म पनि सन्तानकी आमा बन्न नसकेकी छोरीको पीडा थाहा पाएको माइतिलाई त्यस घटनाले अत्यन्त खुशी बनाएको थियो। त्यो खुशी तथा हर्ष ४८ घण्टा नवित्दै सेलायो। हर्ष सवै आँशुमा परिणत भयो। जतिखेर प्रहरीले लालसादेवी नक्कली सुत्केरी अर्थात ‘बच्चा चोर’ भएको खुलासा गरिदियो।

घटनाक्रम अनुसार, बिबाह भएको पाँच वर्ष पुग्दा पनि आफ्नो तर्फबाट छोरा–छोरीको जायजन्म नभएका कारण लालसादेवी चिन्तित थिइन् । यो चिन्ता हटाउन उनले कसैको नवजात शिशु चोर्ने निर्णय गरिन् । वीरगञ्जमा रहेको प्रसुतीगृहमा जाने र सुत्केरी गराइरहेको ठाउँबाटै बच्चा उठाउने सोच गरेर उचित अवसरको प्रतीक्षा गर्न थालिन्।

शुक्रबार वीरगञ्जबाट बच्चा चोर्न सफल भएकी लालसादेवीले प्रहरीलाई दिएको वयानमा भनेकी छिन्– ‘एक महिनादेखि बारम्बार बच्चा चोर्ने प्रयास गरिरहेकी थिएँ, तर शुक्रबार मात्रै सफल भएँ।’वीरगञ्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवी पासवान र मुकेश पासवानको नवजात छोरो लालसादेवीले अस्पतालको शय्याबाटै शुक्रबार दिउँसो चोरिन्।

भर्खरै जन्मिएको शिशुलाई हेरचाह गर्ने नर्स र आफन्तहरु यताउति लागेको मौका पारेर उनले शिशु चोरेकी थिइन् । चोरी भएको शिशु आइतबार दिउँसोसम्म माइतीघरमा लुकाएर राख्न उनी सफल भइन् । तर, प्रहरीले आइतबार शिशु फेला पार्‍यो र उनलाई पक्राउ गर्‍यो ।
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।